जुम्ला – चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित बुधबार राती करिव ९ बजेटतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो नियन्त्रण गर्नका लागि स्थानीयदेखि सवै प्रहरी प्रशासन र चन्दननाथ नगरपालिकाको दमकललाई खबर पनि भयो ।
आगलागी पीडित अधिकारीले भनिन् आगो नियन्त्रण गर्न नगरपालिकाको दमकल नै आएन । स्थानीय र प्रहरी प्रशासनको सहयोगमा आगो नियन्त्रण भयो । तर ग्यारेजका सवै सामान जलेर नष्ट भयो ।
प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार स्थानीय र प्रहरीको सहयोग आगो नियन्त्रण भएको हो । आगो नियन्त्रण गर्न दमकल नपुगेपछि छिनागाउँ र महतगाउँका व्यक्तिले आक्रोसित भएर नगरपालिका तोडफोड गरेको बुझिएको छ ।
उनले भने, नगरपालिका कार्यालयका झ्यालका सिसा, दमकल र डोजरका सिसासमेत टोडफोड भएका छन् । ग्यारेजमा भएका सवारी साधनका डकुमेन्ट संकलन गरिहेका छौँ । दुवै तर्फको क्षतिको एकिन भएको छैन ।
नगरपालिका तोडफोडमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका – ६ का ३३ वर्षीय मानव महत र वडा नम्बर ७ का ३२ वर्षीय कटक बहादुर रोकाया रहेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
८२ लाख मूल्यको दमकल, ३८ लाख ९९ हजार रूपैयाँ मूल्यको स्काभेटरसमेत तोडफोड गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकामा अनावश्यक तोडफोड हुनु निन्दनीय भएको बताए । यस्तै नगर उपप्रमुख रामदेवी खड्काको घरमा समेत क्षति पु¥याइएको छ ।
उपप्रमुख खड्काले आफ्नो घरमा समेत ढुंगामुढा गरिएको बताइन् । उनका अनुसार अराजक रूपमा तोडफोड गरिनु दुःखद पक्ष हो । नगरपालिका तोडफोडमा संलग्नलाई कारबाही हुनुपर्ने उनले बताइन् । नगरपालिकाले रातिको समयमा ट्याक्टर चढेर आइ कार्यालय हाताभित्र प्रवेश गरि अपरिचित व्यक्तिहरूले हुल हुज्जत गरि कायर्यालय भवनका झ्यालका सिसाहरू साथै दमकल र डोजरमा समेत तोडफोड गरि सरकारी सम्पति हानी नोक्सानी गर्ने विरूद्व कडा कारबाही गर्न माग गरेको छ ।
उपप्रमुख खड्काले भनिन् दुई सातादेखि दमकल बिग्रेको छ । मर्मतका लागि दमकलका पाटपुर्जा बाहिर जिल्ला पठाएको छ । यसअघि पनि आगलागी भएको सवै ठाउँमा पठाउने गरेका थियो । यतिबेला विग्रेको हुनाले पठाउन सकिएन । दमकल आएन भनेर यसरी तोडफोड गर्नु उचित होइन ।
छिटोछरितो दमकल पठाउन पनि सडक साँघुरा छन् । सहजै दमकल जाने सडक छैन । दमकल ढिलो आए भनेर पनि गालीगलोज, ढुंगामुडा गर्ने गरिएको छ । अहिले भएको दमकल ठुलो भएकोले साँघुरो सडकमा छिटोछरितो जान नसेकोले अलि सानो खालको दमकलको व्यवस्थापन गर्ने तयारी गरिएको उपप्रमुख खड्काले बताइन् ।



