अबरुद्ध भएको एकसातापछि खुल्यो त्रिवेणी–टोप्ला सडक

जुम्ला । तातोपानी गाउँपालिका वडा नं.७ र ८ भेरीखोला क्षेत्रलाई जोड्ने त्रिवेणी–टोप्ला सडक अबरुद्ध भएको एक सातापछि खुलेको छ । अविरल वर्षासंगै तिला गाउँपालिका वडा नं.४ रावतबाडा नजिक पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

पहिरो पन्छाउने मेसिन नपाएकै कारण एक साता सम्म अबरुद्ध सडक शुक्रबार विहानदेखी संचालनमा आएको तिला गाउँपालिका वडा नं. ४ का अध्यक्ष भद्रवीर सार्कीले बताए । उनले भने,‘एकहप्ता देखी सडक अबरुद्ध हुँदा विशेषरी तातोपानी ७ र ८ का भेरीखोला क्षेत्रका नागरिक प्रभावित भएका थिए । अबरुद्ध तिलाको क्षेत्रमा भएकोले पालिकालेनै खर्च व्यवहोर्ने गरी पहिरो पन्छाएर सडक खोलिएको छ ।’

शुक्रबार विहान ९ बजेदेखि सडक पूर्ण रुपमा संचालनमा आएको उनको भनाई छ । पहिरो जाने बित्तिकै सडक डिभिजन संग मेसिनका लागि अनुरोध गर्दा मेसिन टाकुल्लामा रहेको र आउनै समय लाग्ने देखिएपछि स्थानीय व्यवसायीक दिपक शाहीको डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।

एक सातादेखी सडक अबरुद्ध हुँदा भेरीखोलाबासी समस्यामा परेको तातोपानी–८ का स्थानीय ललित विक्रम शाहीले बताए । उनले भने,‘अबरुद्ध भएको करिब एकसाता भयो । त्यस क्षेत्रमा मेसिन तैनाथ नहुँदा पटक पटक समस्या पाउने गरेका छौँ । आगामी दिनमा भेरीखोला क्षेत्रमा एउटा डोजर तैनाथ राखीनु पर्छ । यात्रालाई सहज बनाउन ध्यान जावस ।’

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस