आगोको धुवाँमा निस्सासिएकी सुत्केरी दिदी र बहिनीको मृत्यु

जुम्ला । आगोको धुँवाले निस्सासिएर जुम्लामा सुत्केरी सहित दुई जनाको मृत्यु भएको छ । सुत्केरीलाई सेक्न बालिएको आगोको धुँवाले निस्सासिएर पातारासी गाउँपालिका–४ की ११ दिनकी सुत्केरी २२ वर्षीय मायालक्ष्मी महतारा उनकी बहिनी नाता पर्ने १९ वर्षीय जुनमाया रोकायाको मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका उनीहरु आगोको धुँवाले निस्सासिएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइएको थियो । उपचारकै क्रममा ११ दिनकी सुत्केरी मायालक्ष्मी महताराको सोमबारनै मृत्यु भई सकेको थियो । भने बहिनी नाता पर्ने १९ वर्षीय जुनमाया रोकायाको उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको प्रहरी नायब उपरिक्षक छेदिलाल कामतीले कर्णाली मिसनलाई जानकारी दिए ।

उनले भने,‘सुत्केरी दिदिलाई सघाउन बहिनी आएकी रहेछन् । संगै सुतेको अबस्थामा धुवाँले निस्सासिएका हुन् । उपचारको क्रममा मंगलबार विहान ६ बजे मृत्यु भएको हो । अहिले शबको पोष्टमार्टम प्रक्रिया भईरहेको छ ।’

उनका अनुसार निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी परेको छ । भने हाल बच्चाको प्रतिष्ठानको आइसीयुमा उपचार भइरहेको छ । सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए । उनीहरू निस्सासिएको अवस्थामा भेटिएका प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस