मुगु– पाँच वर्षदेखि बन्द नाक्चेलाग्ना नाका यही १७ साउदेखि ३१ सम्म खुल्ने भएको छ । उक्त नाका मुगम कार्मारोङ गाउँपालिकाले ह्याजिमार क्षेत्रमा रहेको चीनको स्थानीय प्रमुखसँग गरेको पहलपछि खुल्ने भएको हो । विगत झै चीनको ह्यजिमारमा १५ दिनसम्म हाटबजार लाग्ने गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले बताए ।
नाका खुलेसँगै मुगु जिल्लास्थित नेपाल चीन सीमा नाग्चेलाग्नादेखि नजिकै रहेको चीनको ह्यजिमार क्षेत्रमा ५ वर्षपछि नेपाल–चीन हाट बजार लाग्ने भएको हो । परापूर्व कालदेखि यो क्षेत्रमा अस्थायी रूपमा नेपाल र चीनका जनतालाई आवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाट बजार लगाएर किनबेच गर्दै आएको भए पनि कोरोनाको समयदेखि हाट बजार लाग्न बन्द भएको थियो ।
अस्थायी नाका खोल्न र हाट बजार नियमित गर्न चिनियाँ दूतावास र नेपालको परराष्ट मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका अगुवाहरूले पहल गरे पनि नाका खोलिएको थिएन । हाटबजारमा काठका लठ्ठी, चूलिका सिम्रा,यार्सागुम्बा,नेपाली जुत्ता,जडीबुटी बिक्री गर्ने गरिन्छ । चिनियाँहरुले सिमेन्ट, जस्तापाता, घ्यु, भेडा, चामल, छुर्पी, चिया र लत्ता कपडा विक्री गर्ने गर्छन् ।
चीनतर्फ सीमासम्म सडक पुगेकाले ट्रकमा बिक्री गर्ने सामानहरु चिनियाँ व्यापारीले ल्याउने गर्छन् । ह्याजिमारमा चीनले ठूलो गोदाम घर बनाएको छ । चिनियाँ व्यापारी, स्थानीयले बिक्री गर्न ल्याएका सामान र नेपालीबाट किनेका सामान सोही गोदाममा राख्ने गरिन्छ । तर नेपालतर्फ सडक र यातायातका साधन नहुँदा स्थानीय र व्यापारीहरुले घोडा, खच्चड र चौरीलाई व्यापार गर्ने सामान बोकाएर लाने गर्छन् ।
किनेका सामानहरु पनि तिनै घोडा, खच्चड, चौरी र आफैंले बोकेर घरसम्म ल्याउने गरेको कार्मारोङ गाउँपालिका–१ का वडा अध्यक्ष च्यावा लामाले बताए । सस्तो र नजिकै दैनिक उपभोग्यलगायतका घरायसी सामानहरु खरिद गर्ने गरेका मुगुवासी ५ वर्षसम्म नाका नखोल्दा भारत तथा नेपालका विभिन्न सहरहरुबाट महँगो र टाढाबाट आवश्यक सामान किन्न बाध्य थिए ।
अब वर्षेनी नाका खुला राख्न नेपाल सरकारले कूटनीतिक पहल गर्नु पर्ने र नाकासम्म सडक पुर्याउन तथा भन्सार पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् । मुगु सदरमुकाम गमगढीबाट नाग्चेलाग्ना नाकासम्म ८७ किमि सडक दुरी रहे पनि अहिलेसम्म सरकारले १७ किमि सडकको ट्रयाक खोलेको छ । पहिले सजिलै चीनको ह्यजिमारसम्म हाटबजार लाग्दा मुगलहरु जान पाउने भए पनि अहिले चीन प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट जारी भएको प्रवेश पास अनिवार्य गरिएको छ ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर स्थानीयहरुलाई सहज रूपमा चीन प्रवेश पास दिनेबारेमा छलफल गरिरहेको छ । तत्कालै प्रवेश पास वितरणको लागि सूचना जारी गर्ने र शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयले पास वितरण सुरु गर्ने जानकारी दिएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत सोवेन्द्र बहादुर मल्लले जानकारी दिए ।
गाउँपालिकाको जानकारी अनुसार मुगुको नाक्चेलाग्ना र डोल्पाको मायुम्ला नाका खोल्न प्रवेश पास र सुरक्षा व्यवस्थाको लागि अनुरोध भै आएकोले चीनको हाटबजारमा जाने नेपालीहरुका लागि प्रवेश पास तयार गरी सकिएको छ । हाटबजार अवधिभर नेपालतर्फ नेपालीलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडाइ पारिने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।
उनले भने,‘चीन प्रवेशका लागि डिजिटल प्रवेश पास उपलब्ध गराउनु पर्ने भए पनि अध्यागमनको टोलि डिभाइस लिएर मुगु आउन सम्भव नभएपछि जिल्ला प्रशासनले जारी गरेको कागजी प्रवेश पासबाट चीन प्रवेश गर्न दिन चिनियाँ पक्षले सहमति जनाएको छ ।’
चीन प्रवेशका लागि जारी गरिएको प्रवेश पास मुगुका स्थानीय मुगलहरुले स्थायी ठेगानमा मुगु जिल्ला रहेको नागरिकता देखाएपछि प्राप्त गर्न सक्नेछन् । नाग्चेलाग्ना नाका मुगु र तिब्बतको झोङबास्थित नाइजु जोड्ने नाका हो । मुगुसहित चीनसँग जोडिएका नेपालका १४ नाकाहरुलाई नेपाल र चीनले परम्परागत नाका भन्ने गरेको छ । नेपाल–चीन सीमा स्तम्भमध्ये १३ नम्बर पिल्लर मुगु जिल्लाको नाग्चेलाग्ना नाकामा पर्छ ।



