जुम्ला – सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि पछिल्लो समयमा सरकारले लाभग्राहीको खातामै जम्मा हुने व्यवस्था गरेको थियो । तर पहाड र हिमालका कतिपय जिल्लामा सवारी साधन र नजिक बैक पहुँच नभएकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समस्या हुने गरेको थियो ।
यही समस्यालाई मध्यनजर गर्दै कनकासुन्दरी गाउँपालिकाले लाभग्राहीको नजिकको पायक पर्ने ठाउँमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको छ ।
गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ अन्तिम चौथो सामाजिक सुरक्षा रकम वितरण गरिएको गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिपेन्द्र प्रसाद उपाध्यायले बताए ।
उनले भने, बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैंकका कर्मचारीलाई वडा र बस्तीस्तरमै पु¥याएर वितरण गर्ने प्रबन्ध मिलाइएको हो ।
उनका अनुसार गाउँपालिकाका आठवटै वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । कनकासुन्दरीमा साउन २ देखि ११ गतेसम्म वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । आठवटै वडाका लाभग्राहीको कुमारी बैंकमा रहेको खातामा गत वैशाखदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको छ ।
भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई बस्तीस्तरमा पु¥याएर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले पालिकाको केन्द्रसम्म आउन नसक्ने लाभग्राहीहरूको समस्यालाई मध्यनजर गरेर वडा कार्यालयबाट वितरण गरिएको बताए । उनका अनुसार कनकासुन्दरी गाउँपालिकाले हरेक सेवामा सेवाग्राहीलाई प्राथमिकता दिने नीति लिएको छ । वडामै पुगेर सामाजिक सुरक्षा भत्ता गर्दा नागरिकलाई सहज भएको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाको भनाइ छ ।
कनकासुन्दरी गाउँपालिकाका करिब ३ हजार ३ सय जनाले आर्थिक वर्ष २०८०÷०८१ को चौथो त्रैमासिक सामाजिक सुरक्षा रकम प्राप्त गरेका छन् । अन्य जेष्ठ नागरिक भत्ता , जेष्ठ नागरिक (एकल महिला), जेष्ठ नागरिक क्षेत्र, एकल महिला (आर्थिक सहायता), क वर्ग, ख वर्ग (आर्थिक सहायता) र क्षेत्र तोकिएका बालबालिका शीर्षकमा कुल ३ हजार २ सय ९६ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् ।
तीमध्ये अन्य जेष्ठ नागरिक भत्ता शीर्षकमा ७ सय ४१ जना, ४७ जना जेष्ठ नागरिक (एकल महिला) र ६ सय ४६ जनाले जेष्ठ नागरिक क्षेत्र शीर्षकमा भत्ता प्राप्त गरेको शाखा प्रमुख उपाध्यायले बताए ।
एकल महिला (आर्थिक सहायता) शीर्षकमा १ सय ६१ जना, क वर्गका १३ जना र ख वर्ग (आर्थिक सहायता) शीर्षकमा ७५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
क्षेत्र तोकिएका बालबालिका शीर्षकमा १ हजार ६ सय ११ जनाले भत्ता प्राप्त गरेका हुन् । कुल १ करोड ८६ लाख ८४ हजार ८ सय ८८ रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
आठ वटै वडामा भत्ता पाउने लाभग्राहीको संख्या ३ हजार ६ सय ८० जना थियो । तीमध्ये अभियानको क्रममा १ हजार ४ सय १८ जनाले वडामै उपस्थित भएर भत्ता बुझेका छन् ।
वडा नम्बर १ मा ३ सय ४ जना लाभग्राही रहेकोमा १ सय ७२ जनाले भत्ता वितरण प्राप्त गरेका छन् । वडा नम्बर २ मा ३ सय ९२ मध्ये २ सय ९ जना, वडा नम्बर ३ मा ५ सय ५५ मध्ये १ सय ६८ जनाले प्राप्त गरेको प्रमुख उपाध्यायले बताए ।
वडा नम्बर ४ मा ३ सय ९४ जनामध्ये १ सय ७५, वडा नम्बर ५ मा ३ सय ७२ मध्ये १ सय २८ जनाले भत्ता पाएका हुन् । यसैगरी,वडा नम्बर ६ मा ३ सय १ मध्ये,१ सय ५९,वडा नम्बर ७ मा ४ सय ५९ मध्ये १ सय ६७ र वडा नम्बर ८ मा ५ सय १९ लाभग्राहीमध्ये २ सय ४० जनाले भत्ता प्राप्त गरेका हुन् ।



