जुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाको पूर्वाधार विकासलाई प्रथामिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग गरेका छन् । भौगोलिक रुपमा विकट तथा हाल सम्म राष्ट्यि सडक संजाल पूर्ण रुपमा नजोडिएको हुम्लाको सडक,पूल निर्माण संगै पर्यटन पूर्वाधार विकासमा जोड दिन प्रधानमन्त्री ओली समक्ष माग गरेका हुन् ।
सोमबार हुम्लाका नेता कार्यकर्ताले जिल्लाको आधारभूत विकासका निम्ती ६ बुदेँ माग पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । ६ बुुदेँ मागमा विशेषगरी सडक पूर्वाधार विकासलाई विशेष जोड दिइएको छ । जसमा कर्णाली करिडोर अन्तरर्गत खार्पु–योजाम नदि र सर्केगाड गाउपालिकाको गीउसी–लिप्ने खण्डको कर्णाली नदिमा पुल निर्माणको माग गरिएको छ । पूर्ण रुपमा हुम्ला सडक सन्जालमा नजोडिएको र यातायात संचालनका लागि उक्त दुई स्थानमा बेलिव्रिज तथा मोटरेवल पूल आबश्यक रहेको छ ।
त्यस्तै,हुम्लाको उत्तरी भेकमा पर्ने नाम्खा गाउँपालिका हुदै चीन जोड्ने हिल्सा–सिमकोटमा पर्ने नारा पास तथा लिमि–माप्याः न्यानु पास क्षेत्रलाई सडकको पहुँचमा पुराउन र चिनसंगको व्यापार तथा पर्यटन व्यवसायलाई अघि बढाउन तुम्कोट खोला देखि ककुया हुदै हिल्सा सम्म कर्णाली नदिको तिरैतिरको करिव २९ किलोमिटर सडक गरिदिन माग गरिएको एमालेका केन्द्रिय सदस्य दल रावलले बताए ।
कर्णालीका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका रावलले हुम्लाको लिमीका तीनवटा बस्तीहरु राज्यको पहुंच बाहिर हुन गरी ६ महिना सडक अबरुद्ध हुने भएकोले कर्णाली तिरैतिर सडक आबश्यक रहेको बताए । उनका अनुसार कर्णाली करिडोर अन्तरर्गत सुर्खेत देखि हिल्सा सम्म दुई लेनको फाष्ट ट्रयाकको रुपमा निमार्णगर्ने गरि आवश्यक व्यवस्था गरिदिन अनुरोध गरिएको छ ।
नेपालकै आर्कषक पर्यटकिय गन्तव्य कैलास–मानसरोवरको दर्शन गर्नसकिने लिमिको साप्बामा हाइल्याण्ड पार्क मन्दिर, गुम्वा महितका आवश्यक संरचना निर्माण,हूम्लामा आदिकाल देखि बसोवास गर्दै आएका हुम्ी आदिवासी जनजातिको सुचिकरण गर्नुपर्नु,र २०७९ की स्थानीय निर्वाचनमा निर्मम कुटपिटबाट मृत्युभएका खार्पुनाव–३ निवासी छत्त बहादुर शाहीको परिवारलाई हालसम्म पनि कुनै राहत नपाएको आबश्यक राहत उपलब्ध गराईदिने विषयमा माग गरिएको एमाले हुम्लाका ईन्चार्ज छक्क बहादुर लामाले जानकारी दिए ।
हुम्लाको पूर्वाधार विकासलाई विशेष प्रथामिकता राखेर ६ बुदे माग राखिएको छ । लामाले भने,‘कर्णालीको सम्भावना र भौगोलिक कठिनाई बारे प्रधानमन्त्री जानकार छन् । हाम्रो मागले हुम्लाको विकासमा टेवा पुराउने आशा छ । प्रधानमन्त्री सकरात्मक देखिएका छन् । काम हुनेमा आशाबादी छौ ।’
हुम्लाबासीको मागपत्र बुझ्दै कर्णालीको विकासमा आफु सधै सकरात्मक रहेको समेत प्रधानमन्त्रीले केपी शर्मा ओलीले बताए । कर्णालीको कृषि,पर्यटन,जलविद्युत,भाषा साहित्यलाई अबसरका रुपमा प्रयोग गर्न कर्णालीको विकास जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।




