हँसिलो मुहार, मिजासिलो स्वभाव, नम्र बोली, कुशल नेतृत्वसीप टंक सरका चिनारी हुन् । टंक सर अर्थात टंक महत । ओैषत उचाईका मिलनसार व्यक्ति । जो जुम्लाको मुटुमा अवस्थित चन्दननाथ नमुना माविका प्रधानाध्यापक छन् । जसले आफ्नो नेतृत्वको विद्यालयलाई हरेक कोणबाट निरन्तर अब्बल सावित गरिरहेका छन् ।
हरेक कोणबाट उत्कृष्ट विद्यालयलाई नेपाल सरकारले नमुना समेत घोसित गरेको छ । निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जुम्लाको चन्दननाथ मावि खलंगा नमुना घोषित भयो । विद्यालयले निरन्तर छलाङ मारिरहनुका पछाडि शिक्षक, अभिभावक र विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको प्रधानाध्यापक महतको बुझाइ छ ।
सामुहिक प्रयत्नको उपलब्धि ठान्ने उनी विद्यार्थी देखि शिक्षकहरुको मेहनतलाई कदरयोग्य सम्झिन्छन् । उनले भने, ’चन्दननाथ माविलाई जुम्लाकै प्रतिष्ठित विद्यालय बनाउने मात्र हाम्रो उद्देश्य होइन । प्रदेश हुँदै देशकै नमुना विद्यालय बनाउने अभियान थाल्नेछौं । यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’
आगामी दिनमा विद्यालयलाई प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न कुनै कञ्जुसाइ नगर्ने लक्ष्य लिएका उनी आफ्नो टिमको मेहनत र प्रयासप्रति पूर्ण रुपमा विश्वस्त छन् । भौगोलिक विकटताको पर्याय मानिने जुम्लामा राम्रा संरचनाको कल्पना गर्न नसकिए पनि सदरमुकाममा भने भव्य संरचना देख्न सकिन्छ । भव्य संरचना भएको एक सुन्दर विद्यालय हो, चन्दननाथ नमुना मावि । त्यही विद्यालयको नेतृत्व गरिरहेका छन्, महत ।
उनी विसं २०२६ पुस १५ गते जुम्लाको महतगाउँमा गन्मेका हुन् । शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले विद्यालय तहको पढाइ चन्दननाथ माविबाटै गरेका थिए । ०४३ सालमा एसएलसी पास गरेका उनी ०४४ सालमा प्राथमिक तहको अस्थायी शिक्षक भए । नवप्रभात प्रावि तलिचौरबाट उनले शिक्षण पेसाको सुरुवात गरे । ०४५ सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा पास भएपछि उनी प्राथमिक तहको स्थायी नियुक्ति लिएर सोही विद्यालयको प्रधानाध्यापक हुन पुगे ।
जागिर सँगसँगै पढाइ पनि गरिरहेका उनले ०४७ सालमा प्रविणता प्रमाणपत्र तहको अध्ययन सकाए । त्यतिबेला उच्च प्राविमा बढुवा भएपछि २०४९ सालमा हिमशिखर मावि तातोपानीमा सरुवा भए ।
जागिरे जीवनसँगै उनको पढाइ निरन्तर चलिरहेको थियो े। त्रिभुवन विश्वविद्यालयमा स्नातक तहको पढाइ सुरु गरे । सँगै माविको अस्थायी शिक्षक समेत भए । त्यसबेला उनले विभिन्न माध्यमिक विद्यालयमा अध्यापन गराएको अनुभव सम्हालेका छन् ।
जिल्लाका थुप्रै विद्यालयमा अध्यापन अनुभूति संगालेका उनी ०५७ सालमा श्रोतव्यक्तिको रुपमा काम गरे । करिब तीन वर्ष विभिन्न श्रोत केन्द्रमा काम गरेका उनी २०६० सालमा मावि तहको स्थायी शिक्षक भए । त्यसबेला ०५२ सालमा भएको परीक्षाको नतिजा ८ वर्ष पछि आएको थियो । उनलाई आठ वर्ष पछाडि मावि तहको स्थायी शिक्षक हुँदा बेग्लै प्रकारको खुसी मिल्यो । खुसीखुसी उनी मावि तहको स्थायी नियुक्ति पाएर मानसरोवर उच्च मावि सिमिकोट हुम्लामा गए । त्यहाँ एक वर्ष काम गरिसकेपछि प्रधानाध्यापकको जिम्मेवारी पाए । त्यसपछि उनी ३ वर्षका लागि गैरसरकारी संस्थामा कामको अनुभव लिन गए । तीन वर्षे बेतलबी असाधारण बिदाले नयाँ अनुभूति दिलाएको उनको भनाई छ ।
०६६ सालको अन्तिममा उनी चन्दननाथ माध्यमिक विद्यालयमा हुम्लाबाट सरुवा भएर जुम्ला आए । एक वर्ष शैक्षिक तालिक केन्द्रमा विताए । ०६७ सालको अन्तिम तिरबाट विसं ०७२ साल कात्तिकसम्म प्रशिक्षकको रुपमा काम गरे । ०७२ सालको कात्तिकपछि चन्दननाथ माविको प्रधानाध्यापकको जिम्मेवारी लिई चन्दननाथ नमुना माविलाई हाकिरहेका छन् ।
व्यवस्थापन समितिको विश्वास जितेका उनी तमाम अभिभावकको भरोसा बन्दै गएका छन् । उनको नेतृत्व चन्दननाथ नमुना माध्यामिक विद्यालयलाई फापेको छ । जसको परिणाम संघीय अनुदानबाट भौतिक रुपमा संरचना विस्तार, विद्यार्थी संख्यामा वृद्धि, शिक्षक दरबन्दी बढ्ने तथा विद्यालय व्यवस्थित बनाउने काम भइरहेको छ ।
विद्यालयमा अंग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुन्छ । ६ देखि १० सम्म अंग्रेजी माध्यमका कक्षा संचालन भइरहेका छन् भने प्राविधिक धारहरूमा कृषि, वनविज्ञान कार्यक्रम छन् भने कक्षा ११÷१२ मा कानुन, विज्ञान, शिक्षा आदि संकायमा पठनपाठन भइरहेको छ । लगभग दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
सरकारी विद्यालय भएर निजी विद्यालयलाई चुनौती दिइरहेको चन्दननाथको निरन्तरको शैक्षिक उपलब्धि भरोसा योग्य छ । उनी बिहान देखि राती अबेरसम्म र बिदाको दिन पनि विद्यालयमा भेटिन्छन् । त्यसैको परिणामा उनी नमुन स्कुलका नमुना हेडसरको रुपमा थप परिचित हुँदै गएका छन् ।
उनको नेतृत्व थप प्रभावकारी भन्दै गएको छ । चन्दननाथ मावि हालै प्रदेशको उत्कृष्ट विद्यालयमा छनौट हुन सफल भएको छ । यो बीचमा उनले व्यक्तिगत रुपमा पनि उल्लेख्य उपलब्धि हासिल गरेका छन् । त्यो भनेको मावि प्रथम श्रेणीमा पदोन्नति भएका छन् । जिल्लाको शैक्षिक विकृति र विसंगतिको विषयमा खरो उत्रने उनी एक शैक्षिक नेता समेत हुन् । जसले जिल्लाको शिक्षा क्षेत्रलाई दिशा निर्देश गरिरहेको छ ।
(प्रस्तुति :- महेश नेपाली, चन्दननाथ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाले प्रकाशन गरेको शैक्षिक बुलेटिनबाट)



