जुम्ला । यस वर्ष जुम्लामा स्याउ निर्यातबाट ४० करोड भित्रिने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धी र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यातबाट झण्डै ४० करोड भित्रिने अनुमान गरिएको हो । यतिबेला जुम्लामा स्याउ संकलन र निर्यात गर्ने चटारो छ । व्यापारी किसानको बगैचामै पुगेर स्याउ खरिद गरिरहेका छन् । भने किसान र व्यापारिकको आपसी समझदारीमै मुल्य तोकिएको छ ।
कृषि विकास कार्यालय जुम्लाले यहाँका आठै पालिकामा रहेका किसानहरुको बगैचामा पुगेर,खरिद विक्रीको न्युनतम देखी अधिकतम मुल्यको प्रक्षेपण गरेअनुसार जुम्लामा यस वर्ष १४ हजार मेट्रिकटन स्याउ उत्पादन हुने देखिएको छ ।
उत्पादनको सबैभन्दा बढी हिस्सा गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाले ओगटेको छ । किन भने गुठिचौरमा नेपालकै दोस्रो ठुलो करिब २२ हेक्टर जमिनमा फैलिएको स्याउ बगैचा छ । अर्को गुठिचौरमै १७ हजार हेक्टरमा फैलिएको बगैचा छ । ती बगैचाबाट दर्जनौले रोजगारी पाउनुका साथै स्याउ खेतीमा क्रान्तिनै ल्याएको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा यसवर्ष १४ हजार मेट्रिकटन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको बताए । उनका अनुसार उत्पादन भएको १४ हजार मेट्रिकटन मध्य १० हजार मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात हुने भएको छ । बाँकी चार हजार मेट्रिकटन स्याउ जुम्लामै खपत हुने अनुमान छ ।
हाल स्याउ सरदर ६०÷६५ रुपैया प्रतिकेजी खरिद विक्री भईरहेको छ । उनले भने,‘सरदर न्युनतम मुल्य ४० रुपैया प्रतिकेजी विक्री गर्दा पनि १० हजार मेट्रिकटन स्याउ निर्यात गर्दा झण्डै ४० करोड जुम्लामा आम्दानी हुने छ । किसानले न्युनतम ५ लाख सम्म देखी २५÷३० लाख सम्म आम्दानी गर्ने अनुमान छ ।’

जुम्लाको आठ पालिकामध्य गुठिचौर,चन्दननाथ र पातारासीमा स्याउ उत्पादन राम्रो भएको छ । भने अन्य पाँच पालिकामा अपेक्षित रुपमा स्याउ उत्पादन हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।
साथै कृषि विकास विकास कार्यायले स्याउ प्याकेजिङ सहजताका लागि प्रति कार्टुन ७० रुपैयामा किसानलाई कार्टुन उपलब्ध समेत गराएको छ । यस वर्ष १० हजार कार्टुन ल्याएकोमा ५ हजार विक्री भईसकेको छ । स्याउ आर्थिक समृद्धीको आधार भएपनि निर्यातका लागि ढुवानीमा सहुलियत,भरपर्दो सडक,किसानको श्रमनुसार मुल्य निर्धारण नहुँदा स्याउबाट अपेक्षित लाभा अझै जुम्लाले लिन सकेको छैन् ।
जुम्लाका किसानले वर्षौदेखी स्याउको ढुवानीमा सहुलियत तथा कार्टुन पूर्ण अनुदानमा पाउनु पर्ने माग गर्दै आएका छन् । तर किसानको माग अझै पुरान हुन सकेको छैन् । हाल जुम्लाको चार हजार दुई सय ५० हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती भईरहेको छ । स्याउ खेतीको क्षेत्र विस्तारका लागि स्याउ सुपरजोन देखी कृषि विकास कार्यालय निरन्तर लागि रहेका छन् ।



