जुम्ला । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका अब्बल सावित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन अनुसार कनकासुन्दरी अब्बल सावित भएको हो ।
प्रतिवेदनअनुसार कनकासुन्दरीले एक नगर र सात पालिकामध्ये उच्चतम ८४.५० अंक प्राप्त गरेको छ । कनकासुन्दरीपछि दोस्रो स्थान हासिल गरेको हिमा गाउँपालिकाले ८०.५० अंक प्राप्त गरेको छ । तेस्रो नम्बरमा रहेको पातारासी गाउँपालिकाको ७९.५० र चौथो स्थानमा रहेको तातोपानी गाउँपालिकाले ७४.५० अंक प्राप्त गरेका छन्। त्यसपछि तिला गाउँपालिकाले ७४ अंक प्राप्त गरेको छ ।
जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले जम्मा ६८ अंक प्राप्त गरेको छ । त्यसपछि सिंजा गाउँपालिकाले ६३ अंक प्राप्त गर्दा गुठीचौर गाउँपालिकाको सबैभन्दा कम जम्मा ५३.५० अंक प्राप्त गरेको छ । गुठीचौरको अन्य पालिकाको तुलनामा अत्यन्तै खराब नतिजा हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँ तथा नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृयालाई आधार मान्दछ । यस्तै विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने अंक नतिजाका निर्धारक हुन् ।
उल्लेखित विषयमा स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको जनाएको छ । स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६–०७७ बाट सुरु गरिएको हो । तर, मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।



