कर्णाली प्रदेशमा बाल मृत्युदर वृद्धि हुँदै

जुम्ला – कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर वृद्धि हुँदै गएको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि कर्णाली प्रदेशमा बाल मृत्युदर बढ्दै गएको तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८० अनुसार बाल मृत्युदर वृद्धि हुँदै गएको हो ।


आर्थिक वर्ष २०७५÷७६ मा बाल मृत्युदर ५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७६÷७७ मा ५७ प्रतिशतबाट बाल मृत्युदर ३४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष ०७७÷७८ मा एक वर्षमै बढेर ६४ प्रतिशत पुगेको छ । यस्तै दुई आर्थिक वर्षमा बाल मृत्युदर स्थिर रहेको देखिन्छ । आर्थिक वर्ष ०७८÷७९ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७९÷८० मा ६८ प्रतिशत नै बाल मृत्युदर रहेको तथ्याङ्कले देखाएको छ ।

कर्णाली प्रदेश भर पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको सङ्ख्य ८५.५ प्रतिशत भएको छ । तर जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था सुधारन्मुख देखिएको छ । ०७५ सालमा बालबालिकामा पुड्कोपना ५५ प्रतिशत रहेको थियो । ०८० सालमा ३६ प्रतिशतमा झरेको तथ्याङ्कमा देखिन्छ । यस्तै ०७५ सालमा स्याउटेपन ८ प्रतिशत रहेकोमा ०८० सालमा ४ प्रतिशतमा झरेको छ । ०७५ सालमा कमतौल भएका बालबालिका ३६ प्रतिशत रहेको थियो । ०८० सालमा आएर १८ प्रतिशतमा रहेको देखिन्छ ।
स्वास्थ्यकर्मी भन्छन् कर्णालीका केही जिल्ला बाहेक धेरैजसो जिल्ला दुर्गम भएको कारण बाल मृत्युदर वृद्धि हुने गरेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य सेवा कमजोर देखिनुमा सबै ठाउँको सही तथ्याङ्क आउन नसक्नु, अहिलेसम्म नीति योजना र कार्यक्रम बनाउँदा समताको ख्याल गरेर बनाउनु पर्नेमा सो अनुसार बनाउन नसक्नु, समाजले निर्धारण गरेका मुल्यमान्यताहरू, बालविवाह, सानै उमेरमा बच्चा जन्माउने, समयमा अस्पताल नपु¥याउनु, दक्ष चिकित्सकको अभाव जस्ता प्रमुख कारणहरू देखिन्छन् ।
अहिले पनि घरमै सत्केरी हुने गर्भवती महिलाको सङ्ख्या उत्तिकै छ । बिरामी पर्दा बच्चा सुत्केरी महिला सुविधा सम्पन्न अस्पतालमा पु¥याउन सकिने अवस्था छैन । पोषणमा सुधार आउन सकेको छैन । धामी झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाने चलन छ । यस्तै थुप्रै कारणले बाल मृत्युदर न्यूनीकरण हुन सकेको छैन ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस