बालक्लवको भुमिका, बालविवाह रोक्ने देखि सरसफाई अभियान

जुम्ला – पातारासी गाउँपालिका – ५ लोर्पगाउँमा दुई वटा गाउँ छन् । जुन तलिलोर्प र माथिलोर्प गाउँ हुन् । तलिलोर्प गाउँमा सहयोगी बालक्ल निकै सक्रिय रहेको छ ।
गाउँमा सहयोगी बालक्लवले बालविवाह रोक्नेदेखि सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । २० वर्ष नपुग्दै विवाह गर्न नमिल्ने कानुनी प्रावधान हुँदाहुँदै साउन महिनाको दोस्रो साता लोर्पगाउँकी १८ वर्षीया किशोरीले सोही गाउँपालिका – ४ का १७ वर्षीय किशोरसँग विवाह गर्न थालिन् । बालक्लवका अध्यक्ष विकास बोहराले भने, बालविवाह गर्न थालेको सूचना प्राप्त भएपछि वडापालिकामा र प्रहरी चौकीमा जानकारी गरायौँ ।
पछि हाम्रो खबरदारी र सरोकारवाला निकायको सक्रियतामा हुन थालेको बालविवाह रोकियो, क्लवका अध्यक्ष बोहराले भने । अहिले विवाह गर्न थालेका किशोरकिशोरी आ–आफ्नो अभिभावकको संरक्षणमा छन् । उनीहरु पछि २० वर्ष पुगिसकेपछि आफु खुशी विवाह गर्न पाउने उनले बताए ।
यस्तै टोल गाउँबस्ती, धारापधेरोमा भएको फोहोर पनि सरसफाई गर्ने गरिएको बालक्लवकी उपाध्यक्ष अनिता बुढाले बताईन् । उनले भनिन् अहिले हाम्रो गाउँ सुन्दर र सफा देखिन्छ । दुर्गधित छैन । जसले गर्दा यहाँका स्थानीय बासिन्दालाई फोहोर जन्यरोग नलागोस् भन्ने हो ।


हाम्रो बालक्लवमा २५ जनाको सदस्य रहेका छन् । प्रत्येक हप्ताको शनिबार बेलुका ४ घण्टा विभिन्न समसामयिक विषयमा कक्षा सञ्चालन गर्ने गरिएको छ । जुन कक्षामा बालविवाहदेखि सरसफाई, आर्थिक आयआर्जनका विषयमा छलफल हुने गरेको क्लवकी उपाध्यक्ष बुढाले बताइन् । उनले भनिन् हामी कसरी आम्दानी गर्न सक्छौँ, खर्च व्यवस्थापन कसरी गर्ने र फजुल खर्च कसरी घटाउने भन्ने विषयमा छलफल हुने गरेको छ ।
यसैगरी स्थानीय तह वडापालिका, गाउँपालिका र दातृ निकायसँग आवश्यकता अनुसार खेलकुदका सामग्रीदेखि शैक्षिक सामग्री, सचेताका कार्यक्रमहरु माग गर्ने गरिएको छ । सोही बमोजिम प्राप्त हुने गरेको बालक्लवका पदाधिकारीले बताउने गरेका छन् । वल्र्डभिजन र किर्डाक नेपालको सहयोगमा समुदाय सहभागिता बाल स्पोन्सरसीप कार्यक्रम अन्तरगत यिनै क्रियाकलाप हुने गरेको साथी शिक्षक हिमाली बुढाले बताइन् ।
किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाका अनुसार यो वडा बालमैत्री स्थानीय शासन घोषण गरेको छ । बालबालिका सम्वन्धी सवै सूचक पुरा गरेर बालमैत्री स्थानीय शासन वडा घोषणा भएको हो । उनले भने, यिनै कार्यक्रमका विषयमा जिल्ला स्तरीय सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले अनुगमन गर्ने गरेका छन् । सोमबार सो अनुगमन भएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस