जुम्लाका आठ वटा वडा बालविवाह मुक्त । तस्बिर ः कर्णाली मिसन
जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडामध्ये सात ओटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह विरुद्धको अभियान प्रभावकारी बनाइ जिल्लाका आठ ओटा वडाले बालविवाह मुक्त वडा घोषणा गरेको हो ।
बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका–५, पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका ४, ६ र हिमा गाउँपालिका–१, ३ वडा हुन् ।
नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने सरकारको दिगो विकास लक्ष्य रहेको छ । सोही अन्तर्गत गैरसरकारी संस्थाहरूको सहयोग र समन्वयमा स्थानीय तहले बालविवाह मुक्त वडा घोषणा गरिरहेका छन् ।
बालविवाह मुक्त वडा घोषणा गर्न स्थानीय तहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र स्थानीय तह बाल अधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको छ ।
सिंजा गाउँपालिका–४ र ६ वडाले सूचक पूरा गरेकोले घोषणा गरिएको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, वडाभित्र सबै सूचक पूरा भएको र बालविवाह शून्यमा भएको यकिन भएपछि घोषणा गरिएको हो । यहाँका ६ वडा मध्ये दुई वटा बालविवाह मुक्त वडा घोषणा भईसकेका छन् । अब बाँकी ४ ओटा वडा पनि बालविवाह मुक्त गरेर पालिकाकै घोषणा गर्ने छौँ ।
वडामा विभिन्न अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ । बालविवाह हुन नदिन र भएमा कानुनी प्रक्रिया अवलम्बन गर्ने सहितका सूचक पूरा गरेपछि बालविवाह मुक्त घोषणा गरिएको उनको भनाइ छ । उनले २० वर्ष नपुगी विवाह गर्न नहुने कानुनी प्रावधान रहेको जानकारी दिए ।
बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा जिल्लास्थित सरकारी निकाय, गैरसरकारी निकाय, प्लान नेपाल, वल्र्डभिजन, पेस नेपाल, किर्डाक नेपाल, क्याड बालविवाह विरुदको साँझा अभियान जुम्लाको सक्रिय भुमिका रहेको हिमा गाउँपालिका उपाध्यक्ष सुपुर्ना शाहीले बताइन् ।
बालविवाह गर्ने गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपियाँसम्म जरिबाना भराउने कानुनी प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतिले बताए ।



