जुम्ला । जुम्लाको अर्गानिक स्याउको बजारीकरणमा समस्या देखिएको छ । विगतका वर्ष जस्तै जुम्लाको स्याउले सहजै बजार पाउन सकेको छैनन् । यस वर्ष स्याउकै सिजनमा लामो समयसम्म कर्णाली राजमार्ग अबरुद्ध हुनु र राज्य बजार सुनिश्चित नगर्दा जुम्ली किसान तथा व्यापारी मर्कामा परेका छन् ।
जुम्लाको स्याउ विशेषगरी तीजलाई मध्यनजर गरी निर्यात गरिन्छ । तर यसवर्ष जुम्लाको स्याउ तिजलाई लक्षित गर्न बाहिरी जिल्लामा पुग्न सकेन् । जसका कारण केहि समय ढिलो बजारमा पुगेको स्याउले उपयुक्त मुल्य पाउन नसकेको किसान बल बहादुर रोकाया बताउँछन् ।
उनी भन्छन,‘गत वर्ष गाडी स्याउ एकैचोटी बेचिन्थ्यो । अहिले किलो स्याउ बजार बजारमा लिएर बेच्नु पर्ने स्थिती छ । प्रतिकेजी ७०÷८० रुपैयाँमा समेत विक्री हुन मुस्किल छ । सडकको दुरावस्था उस्तै छ । नत सरकारले बजार सुनिश्चत गरेको छ । नत ढुवानीमा सहुलियत । किसानलाई सधै उत्पादनको बजारीकरणमा समस्या छ ।’
बल बहादुर रोकाया जस्तै जुम्लाका किसानले यस वर्ष स्याउको बजारीकरणमा समस्या देखिएको गुनासो पोखेका छन् । जुम्लाबाट यस वर्ष ४० करोड बराबरको स्याउ निर्यात हुने प्रक्षेपण गरिएको थियो । तर वर्षातका कारण लामो समय राजमार्ग अबरुद्ध भएर केहि स्याउ कुहिनु र उपयुक्त मुल्य नपाउँदा अनुमान गरिएनुसारको आर्थिक भित्रिने नभित्रिने एकिन छैन् ।
कूल उत्पादन हुने १५ हजार मेट्रिकटन स्याउ मध्य १० हजार मेट्रिकटन निर्यात हुने र पाँच हजार मेट्रिकटन स्याउ जिल्लामै खपत हुने कृषि विकास कार्यालयको अनुमान छ । निर्यात भएको स्याउले बजार नपाएको गुनासोपछि जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा स्वदेशी उत्पादनको बजारलाई सुनिश्चत गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले जुम्लाको स्याउले बजार नपाउने तर भारतबाट अर्बौको विषादीयुक्त स्याउ निर्यात गर्ने भन्दै स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न माग गरे ।
उनले भने,‘हरेक वर्ष भारतबाट ६ अर्बबढीको विषादी मिलाइएको स्याउ निर्यात भईरहेको छ । नत नाका क्वारेन्टाईन जाँच भएको छ । त्यो स्याउले स्वास्थ्यमा प्रतिकूल असर समेत पारिरहेको छ । विषादीयुक्त स्याउ सुपरमार्केटमा साढे ३ सय किलोमा विक्री गर्ने ठुला व्यापारीले जुम्लाको स्याउ किन खरिद नगर्ने ?’
जुम्ली स्याउ ७० रुपैया केजीमा समेत बिक्न गाह्रो भयो भन्दै किसान रोईरहेका छन् । कृषि मन्त्रालय र मन्त्रीले के हेरिहेका छन् । किसानको हितमा काम नगर्ने मन्त्रालय राखेर झण्ड हल्लाएर कुनै औचित्य नभएको सांसद शाहीले धारणा राखे ।
जुम्लाको आर्थिक समृद्धी र किसानको जीविकोपार्जनसंग जोडिएको स्याउको बजारीकरणमा सधै समस्या हुँदा किसानले श्रमनुसारको अपेक्षित लाभ लिन सकेका छैनन् ।
यसैबीच विगत ६ वर्षको तथ्यांकलाई हेर्दा जुम्लामा ४ लाख ५८ हजार मेट्रिकटन स्याउ उत्पादन भएकोमा ३ लाख ८० हजार मेट्रिकटन मात्रै निर्यात भएको छ भने ७८ मेट्रिकटन स्याउ घरमै थन्किएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार २०७४ सालमा १८ सय मेट्रिकटन उत्पादन भएकोमा १५ मेट्रिकटन, २०७५ मा ३० मेट्रिकटन उत्पादन हुँदा २५ हजार मेट्रिकटन निर्यात भएको थियो ।
त्यस्तै, ०७६ सालमा ५० मेट्रिकटन उत्पादन भएकोमा ४० मेट्रिकटन स्याउमात्रै बजारमा गयो भने १० मेट्रिकटन स्याउ घरमै थन्कियो । केही खाए पनि, ठूलो मात्रमा खेर गयो । २०७७ सालमा एक सय मेट्रिकटन उत्पादन भए पनि ८० मेट्रिकटन मात्रै जुम्लाबाट निर्यात भएको थियो । २० मेट्रिकटन घरमै थन्कियो भने २०७८ सालमा ११० मेट्रिकटन स्याउ उत्पादन हुँदा ९० मेट्रिकटन र २०७९ सालमा १५० मेट्रिकटन उत्पादन भएकोमा १३० मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।
६ वर्षमा स्याउ प्रतिकेजी ८० रुपैयाँदेखि २५० रुपैया मूल्यसम्ममा बिक्री भएको कृषि विकासको तथ्यांकले देखाउँछ । ६ वर्षमा तीन लाख ८० हजार मेट्रिकटन स्याउ निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने एकिन तथ्यांक कृषि विकास कार्यालयसँग छैन ।



