हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त

जुम्ला – समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेका पातारासी गाउँपालिका – ३ लोडचौरस्थित कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त भएको छ । लामो समयको प्रयासपछि हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले उक्त जग्गाको लालपुर्जा सोमबार हस्तान्तरण गरेका छन् ।


पातारासी गाउँपालिका – ३ लोडचौरमा रहेको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले निशुल्क उपलब्ध गराएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख न्यौपानेले जनाएका छन् । जग्गाको क्षेत्रफल ६ हजार १२० वर्ग मिटर रहेको छ । जग्गा व्यवस्थापन समिति संयोजक तथा पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको विशेष पहलकदमी र जेनजी यूवा परिषद् कर्णाली प्रदेशका संयोजक प्रकाश खड्काको सक्रियतामा कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त हो ।


स्थानीय रन महताराले पनि निशुल्क जग्गा उपलव्ध गराउने प्रतिबद्धता गर्नु भएको छ । वडाध्यक्ष गोविन्द रावतले भने, उहाँको जग्गा हदबन्दी लागेको छ । त्यो जग्गा फुकुवा प्रक्रियामा छ । फुकुवा भएपछि कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको लागि उपलव्ध गराउनु हुने छ ।


३ पुस ०७४ पुसमा तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा प्रशिक्षण सेन्टरको सम्भाव्यता अध्ययनसमेत गरेको थियो । सम्भाव्यता अध्ययन पश्चात कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माण पहल थालिएको थियो । कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माण गर्न राष्ट्यि खेलकुद परिषद्ले भ्याटसहित एक अर्व ५८ लाख बजेटको डिपिआर तयार गरेको छ ।


यसअघि जग्गा एकीकरणपछि रंगशाला निर्माण कार्यमा अहिलेसम्म मैदान मिलाउन दुई करोड ५० लाख खर्च भएको छ । यस वर्ष बजेट अभावले निर्माण कार्य खासै अगाडि बढेको छैन । चालू आर्थिक वर्ष ०८१÷०८२ मा ६ करोड ३० लाख बजेट विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण आयोजनाले जुम्लामा दुई करोड ३० लाख र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत स्थानीय विकास कार्यालय सुर्खेतमा चार करोड बजेट विनियोजन गरेको छ । समयमा जग्गा प्राप्त नहुदा गतवर्ष विनियोजित बजेट ५ करोड ६६ लाख रुपियाँ फ्रिज भएको थियो । हाई अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढीका खेलमैदान निर्माण गरिने डिपिआरमा उल्लेख छ । स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने उल्लेख छ ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस