पौष्टिक आहाराको प्रयोगले पोषणमा सुधार

चालु आर्थिक वर्ष विनियोजन भएन बजेट, अब एक महिना मात्रै पौष्टिक आहारा वितरण हुने

जुम्ला – गुठीचौर गाउँपालिका – ५ कुम्डी गाउँकी जानकी चौलागाईले पौष्टिक आहारा (लिटोपिठो) प्रयोगले बच्चाको पोषणमा सुधार आएको बताइन् । उनले भनिन् बच्चा ८ केजीको थियो । पौष्टिक आहाराको प्रयोगले एक महिनाको अन्तरालमा एक केजी बढेर नौ केजी पुगेको छ ।

पौष्टिक आहारा प्रयोग सँगसँगै स्वास्थ्यकर्मीले पौष्टिक आहारा बनाउने विधि र स्वास्थ्य सरसफाईका विषयमा सिकाउने गरेकाले हामीलाई सहज भएको उनले बताइन् । उनले भनिन् पहिले पहिले जस्तो बालबालिकामा कुपोषण देखिने गरेको छैन । लिटोपिठो पौष्टिक आहाराको प्रयोगले दुई वर्षमुनिका बालबालिका र गर्भवति आमालाई पोषणमा टेवा पुगेको छ ।

सोही वडाकी सुजता भण्डारीका अनुसार पौष्टिक आहाराले बालबालिका र गर्भवति आमालाई राहत पुगेको छ । उनले भनिन् बच्चा र गर्भवति महिलाको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्नुका साथै तौल लिने गरेको छ । जसले गर्दा अभिभावकलाई पोषण अवस्था जानकारी हुने र सोही अनुसार खानपानमा ध्यान दिने गरिएको छ ।

उनीहरु जस्तै यो वडामा ४० जना गर्भवति र सुत्केरी आमा रहेका छन् । ६–२३ महिना सम्मका ७० जना बालबालिका रहेको देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज क्षेत्र खत्रीले बताए । उनले भने यस मध्ये दुई जना बालबालिका मात्रै मध्यम कुपोषित देखिएका छन् । उनीहरुको पनि पोषणमा सुधार आउने अपेक्षा गरिएको छ । गतवर्ष यस वडामा कुपोषण शून्य अवस्थामा रहेको थियो ।

एमडिआई जुम्लाका प्रमुख नविन रावलका अनुसार आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्र्तगत पौष्टिक आहारा वितरण गर्नुका साथै सचेतीकरण गर्ने गरिएको छ । बालबालिका, गर्भवति र सुत्केरी आमाले दैनिक सय ग्रामको दरले पौष्टिक आहारा खान सिकाईएको हुन्छ । उनले भने, यसका अलवा रैथाने अन्नबालीको पनि पौष्टिक आहारा बनाएर खाने विधि पनि सिकाउने गरिएको छ ।

अब एक महिना पुग्ने मात्रै पौष्टिक आहारा मौज्दात रहेको कार्यक्रम संयोजक रावलले बताए । उनले भने, नेपाल सरकार, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन र संयूक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा मनोहोरी विकास संस्था नेपालको (एमडिआई) साँझोदारीमा सामाजिकमा आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।

गतवर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पाँच करोड बजेट विनियोजन गरेको थियो । त्यो बजेट ४ महिनाका लागि ६०.५०१ मेट्रिक टन पौष्टिक आहारा प्राप्त भएको हो । एक महिनाका लागि पाँच हजार ३६४ जनालाई १६.०९२ मेट्रिक टन आवश्यक पर्दछ । १२ महिनाका लागि १०६.९६२ मेट्रिक टन पौष्टिक आहारा आवश्यक हुन्छ ।

यस वर्ष ०८१÷०८२ मा बजेट विनियोजन गरिएको छैन । जसले गर्दा पौष्टिक आहारा वितरण नहुने देखिन्छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार पौष्टिक आहारले पोषणमा सुधार ल्याएको छ । यो कार्यक्रमले बालबालिका र गर्भवति महिलाको नियमित चेकजाँच हुने गरेको छ । उनले भने, जसले गर्दा घरमा सुत्केरी हुनेको संख्या घट्दै गएको छ । पोषणयुक्त खाने कुरामा ध्यान दिन थालिएको छ । आनाबानीमा सुधार आएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार पौष्टिक आहाराले बालबालिका, गर्भवति र सुत्केरी महिलाको पोषणमा सुधार ल्याएको छ । उनले भने, पौष्टिक आहारा लिटोपिठोको अलवा हामी स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीमा पनि पोषण पाईन्छ । रैथाने बालीको सदुपयोग गरी पोषणयुक्त खानेकुरामा ध्यान दिनु होला ।

प्रकाशित मिति : २०८१ असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस