कर्णाली प्रतिष्ठानको प्रथम दिक्षान्त समारोह बुधबार, ५८ जना दीक्षित हुँदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको डेढ दशक पछि पहिलो पटक दिक्षान्त समारोह हुने भएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा प्रथम दिक्षान्त समारोह हुने भएको हो । प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको समारोह कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएपछि स्थगित भएको थियो ।

बुधबार हुने दीक्षान्त समारोह कार्यक्रमको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए ।

उनका अनुसार स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् । प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । साथै प्रतिष्ठानको सिनेट बैठक पनि बस्ने भएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस