जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विकासमा वर्तमान सरकार गम्भीर रहेको बताए । दुर्गम कर्णाली सहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्यायन,अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले कुनै कुराको कमि हुन नदिने बताएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दिक्षान्त समारोहमा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले विशषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाहको परिकल्पना नगरेका कर्णालीबासीले घरघरमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिष्ठानका कूलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले भने,‘प्रतिष्ठानले पहिलो दिक्षान्त समारोह गर्न सफल भयौ । यो हाम्रो गौरबको कुरा हो । कुनै बेला डाक्टर नपाईने ठाउँमा अहिले दक्ष जनशक्ति दिक्षित भएका छन् । अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास छ । अब कर्णाली बन्दै छ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन् । अब चुनौतीहरु घटेका छन् ।’
कृषि,पर्यटन, भाषा, साहित्य संगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको बताउनुभयो । दिक्षित भएका विद्यार्थीलाइ अझै ईमानदारीका साथ राष्ट्प्रति कर्तव्यनिष्ट भएर सेवा गदिन समेत अनुरोध गरे । आज हामीले सुविधायुक्त शैक्षिक भवन समेत उद्घाटन गरेका छौ । यसले अध्यायन,अनुसन्धान र सेवा प्रवाहलाई सकरात्मक बल पुग्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

कर्णालीका १० सहित सुदुरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानको बृद्धि विकासमा वर्तमान सरकारको ध्यान पुगेको छ । उनले भने,‘आज सिनेट बैठकमा प्रतिष्ठानका विभित विषयमा गहन छलफल भएको छ । लामो समयदेखि काम गरेका शिक्षक कर्मचारीको स्तरबृद्धिको विषयलाइ समेत गम्भीर रुपमा लिएका छौ । करोडौका संरचना बन्नु,विशषज्ञ डाक्टर उत्पादन हुनुले कर्णाली स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनु हो ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम कर्णालीमा प्रदान गरेको सेवा प्रवाहका विषयमा देशमा मात्र नभई विदेशमा समेत चर्चा भईरहेको उनको भनाई छ । आर्थिक अभावले यहाँका भवन अलपत्र पर्ने,स्वास्थ्य सेवा रोकिने स्थिती कहिले आउन नदिने समेत प्रधानमन्त्री ओलीले आश्वासन व्यक्त गरे ।

साथै दैलेखको राकम कर्णालीमा बन्ने एक सय शैया अस्पताल र ट्रमा सेन्टर निर्माणकामा समेत सरकारको ध्यान पुगेको उहाँले बताउनुभयो । राकम कर्णालीमा बन्ने संरचना स्थलको स्थलगत अनुगमन समेत गरि सकेको र सुदुरपश्चिमका नागरिकले पनि सहज रुपमा सेवा पाउने भएकोले राकममा एक सय शैया अस्पताल निर्माणलाई अघि बढाउन पहल गर्ने उल्लेख गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुल पति डाक्टर मंगल रावलले प्रथम दिक्षान्त समारोह गर्न पाउँदा गौरब महसुश भएको बताए । कोरोना कालमा देशकै उत्कृष्ट सेवा प्रवाह गरेको प्रतिष्ठानले कर्णाली र सुदुरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गरे ।

उहाँका अनुसार हाल प्रतिष्ठानमा एमडी,एमबीबीएस,विएनएस लगायतका १४ वटा विभिन्न स्नातक स्नातकोत्तर तहका विभिन्न कार्यक्रम संचालित रहेका छन् । अझै भौतिक संरचनाका अभावले भाडाका घरमा बस्नु पर्ने बाध्यता रहेकोले वर्तमान सरकारबाट सहयोगको अपेक्षा गरिएको समेत उल्लेख गरे ।



