जुम्ला – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अर्काे स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना नहुने बताएका छन् । जिल्लास्तरको भ्रमणको क्रममा नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
उनले भने सुर्खेतमा अर्काे मेडिकल कलेज स्थापना गर्ने चर्चा नभएको होइन । तर अर्काे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुदैन ।
प्रदेश अस्पताललाई भविश्यमा कसरी लैजाने भन्ने विषयमा विशेषज्ञ डा. भगवान कोइरालाको संयोजकत्वमा एउटा समिति बनेको छ । त्यो समितिले अहिले अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदनका आधारमा मात्रै काम अगाडी बढ्ने सम्भावना देखिएको छ ।
मुख्यमन्त्री कँडेलले सुर्खेतमा अर्काे मेडिकल कलेज स्थापना नहुने आश्वासन दिएपछि जुम्लामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै सुर्खेतमा पनि स्थापना गर्ने निकै चर्चाको विषय बनेको छ । जुम्लामा स्थापना भएको प्रतिष्ठानलाई धरासयी बनाउने उद्देश्यका साथ सुर्खेतमा मेडिकल कजेल स्थापना गर्न थालिएको भन्ने माथिल्लो कर्णालीका जनमानसमा परेको छ ।



