जुम्ला – तिला गाउँपालिका – २ रारालिही स्वास्थ्य चौकीमा सञ्चालन एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ३१० जना सेवा लिएका छन् । गाउँपालिकाको सहकार्य र आईएनएफ. नेपाल अन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो ।
कानको सुनाई सम्बन्धी समस्या भएका, आँखा, कान, घाटी र हाडजोर्नी सम्बन्धि समस्या भएका जम्मा ३१० जनाले स्वास्थ्य सेवा लिएका हुन् । जस मध्ये पुरुष १३२ र महिला १७८ जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको रारालिही स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले बताए । उनले भने, कान, नाक घाटी सम्बन्धि बिरामी ४६ जना, आँखा १०५ जना, हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामी ६४ जना र चिकित्सक परामर्श ९५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
गाउँमै दक्ष चिकित्सकबाट हाडजोर्नीको उपचार पाउँदा यहाँका स्थानीयवासीलाई निकै राहत पुगेको तिला गाउँपालिका– १ का स्थानीय काली रावतले बताइन् । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतको टिमले स्वास्थ शिविरमा आएका बिरामीको स्वास्थ्य चेकजाँच गरेको आईएनएफ. नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।
अपांगता भएका व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदानदेखि अपांगता कार्डको लागि चिकित्सकले सिफारिस सेवा समेत प्रदान गरिएको थियो । परियोजना अधिकृत बुढामगरका अनुसार गाउँ बस्तीमै पुगेर आईएनएफ. नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि तिलाका स्थानीयवासीलाई सहज भएको छ ।



