बाल प्रोफाईल तयार गर्दै चन्दननाथ र गुठीचौर

जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाले बालबालिकाको प्रोफाईल तयार गर्ने भएका छन् ।

बालबालिकाको अवस्था पहिचानको लागि प्रोफाईल तयार गर्ने दुई स्थानीय तहले तयारी गरेका हुन् । माघ २५ गते चन्दननाथ नगरपालिका र माघ २७ गते गुठीचौर गाउँपालिकामा सम्पन्न बाल कचहरी कार्यक्रममा दुई स्थानीय तहले चालु आर्थिक वर्ष भित्रै बालबालिकाको प्रोफाईल तयार गर्ने प्रतिवद्धता जनाएका छन् ।

बालकचहरी कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले बालबालिकाको अवस्था पहिचानका लागि प्रोफाईल अनिवार्य भएको बताए ।
प्रोफाईल नभएकै कारण बालकालिकाहरुको आवश्यकता पहिचान हुन नसकेको उनको भनाइ छ ।

उनले भने,’अहिले बालबालिकाको आवश्यकता पहिचान नभई काम गरेका छौँ । फाल्गुन ५ गते हुने हिउँदे नगरसभाबाट बालबालिकाको अवस्था पहिचानका लागि प्रोफाईल तयार गर्छाै ।’
प्रोफाईल तयारका लागि महिला तथा बालबालिका शाखालाई उनले काम गर्न निर्देशन दिएका छन् ।

यस्तै गुठीचौर गाउँपालिका अध्यक्ष दानवहादुर बुढाले बालबालिकाको क्षेत्रमा काम गरेपनि प्रोफाईल नभएको बताए । प्रत्येक वर्ष बालबालिकाको लागि स्थानीय सरकारले गरेको लगानिले गर्दा अब्बल बालबालिका उत्पादन भएको उनको भनाइ छ ।

अध्यक्ष बुढाका अनुसार, पालिका भरीका बालकालिकाको अवस्था पहिचान भएमा लगानि गर्न सहज हुने छ । चालु आर्थिक वर्ष भित्रै बालबालिकाको अवस्था झल्किने गरी प्रोफाईल तयार हुने उनको भनाइ छ । यस्तै बालमैत्री नीति र बालमैत्री पालिका घोषणाका लागि तयारी गरिने बुढाले उल्लेख गरे ।

वल्डभिजन इन्टरनेशल नेपालको सहयोग, किर्डाक नेपाल जुम्लाको साझेदारी, स्थानीय तहको समन्वय र रेडियो कर्णालीको सहजिकरणमा बाल कचहरी कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस