जुम्ला । आयोजक नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोली आ–आफ्नो खेलमा विजयी हुँदै एक खेलअघि नै उपाधि नजिक पुगेका हुन्। नेपालले लेवनानलाई १–० ले हरायो। ११ हजार ८७३ समर्थकमाझ सावित्राले निर्णायक गोल गरेकी थिइन्।
दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको थियो। लगातार दोस्रो जितपछि नेपाल र म्यानमारको समान ६ अंक छ। गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा छ। लगातार दोस्रो हारपछि किर्गिस्तान र लेवनान प्रतियोगिताबाट बाहिरिएका छन्। अब, सान्त्वना जितको लागि किर्गिस्तान र लेवनान तथा शीर्ष स्थानमा रहन नेपाल र म्यानमारबीच आइतबार प्रतिस्पर्धा हुनेछ।
आफूभन्दा ३१ स्थान तल रहेको लेवनानविरुद्धको जितमा सावित्राले निर्णायक गोल गरिन्। दशरथ रंगशालामा नेपालले खेलको ४१औं मिनेटमा अग्रता बनायो । स्ट्राइकर सवित्रा भण्डारीले गोल गरिन् । उनले बक्स बाहिरबाट हानेको प्रहार लेवनानको डिफेन्डर फरा एल तैयरलाई लाग्दै गोल भएको थियो । प्रतियोगितामा सावित्राको यो पहिलो गोल हो ।
यसअघि खेलको इन्जुरी समयमा लेवनानको जावा अरवीको प्रहार क्रसबारमा लागेर फर्किएपछि लेवनान बराबरी गर्न चुकेको थियो । यसअघि अग्रपंक्तीमा सावित्रासँगै रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर चुक्दा नेपाल एक गोलबाट बढाउन सकेन ।
लेवनानविरुद्ध नेपालको लगातार दोस्रो जित हो । यसअघि सन् २०२४ मा भएको खेलमा नेपालले लेवनानलाई २–१ ले हराएको थियो । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रीति राई र सावित्रा भण्डारी चम्किएपछि नेपालले पहिलो भेटमा रोमाञ्चक जित निकालेको हो ।
फोर नेसन्सको दोस्रो खेलमा प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गरेका थिए । पहिलो खेलमा कीर्गिस्तानविरुद्ध घाइते भएकी डिफेन्डर निशा थोकरको स्थानमा समिक्षा घिमिरे खेलिन् । दोस्रो हाफमा मैदान उत्रिएकी स्ट्राइकर सावित्रा भण्डारीलाई दोस्रो खेलमा भने तामाङले सुरुमै खेलाएका थिए ।
गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बारहँदा समिक्षाले गीता राना, पुजा राना र विमला वि।कलाई साथ दिइन् । मिडफिल्डरमा रेनुका नगरकोटेसँगै प्रीति राई, सविता राना मगर र विमला चौधरीलाई निरन्तरता दिइएको थियो । सावित्रालाई अग्रपंक्तीमा रेखा पौडेलले साथ दिइन् ।



