जुम्ला – तिला गाउँपालिका–२ डुण्डेलीस्थित रारालिही स्वास्थ्य चौकीको ‘बर्थिङ सेन्टर’ ८ महिनादेखि बन्द हुँदा सुत्केरी महिलालाई समस्या भएको छ । चार महिना भित्र बर्थिङ सेन्टरको भवन निर्माणका लागि सेवा बन्द गरिएको थियो ।
तर नयाँ भवन निर्माण भएको लामो समयसम्म पनि बर्थिङ सेन्टर सञ्चालन नहुदा समस्या भएको हो । बर्थिङ सेन्टर भित्र चाहिने तातो चिसो पानी र विद्युतको लाइन जोड्ने काम ढिलो हुदाँ सेवा प्रवाह नभएको जनाएको छ ।
अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउनुपर्ने बाध्यता रहेको छ । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
रारालिही स्वास्थ्य चौकीका अधिकृत छैठौं हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टर नयाँ भवन निर्माण सम्पन्न भईसक्दा पनि सञ्चालन हुन सकेको छैन । तालिम प्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो । गत आर्थिक वर्ष २०८०।८१ मा २२ जनाले बर्थिङ सेन्टरमा सुत्केरी भएका थिए । यो चालु आर्थिक वर्षमा कुनै पनि सुत्केरीले बर्थिङ सेन्टरमा सेवा नलिएको रारालिही स्वास्थ्य चौकीका अधिकृत छैठौं खत्रीको भनाइ छ ।
अबको केही साता भित्र विद्युतको लाइन जोडेर बर्थिङ सेन्टर सञ्चालनमा आउने तिला– २ का वडाध्यक्ष चन्द्र बोहोराले बताए । उनले भने, बर्थिङ सेन्टरलाई चाहिने आवश्यक स्रोत साधनदेखी बजेटको व्यवस्थापन गर्न समय लागेको हो ।
बर्थिङ सेन्टरको सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीय वासीलाई समस्या भएको छ । तत्काल बर्थिङ सेन्टर सञ्चालनका लागि सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।
उनले भनिन्, बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन निरन्तर लागि परेको छु । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरी महिलालाई जिल्लामा रहेको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ल्याउन र लैजान निःशुल्क व्यवस्थापन गरेका छौँ ।



