शैक्षिकसत्र अगावै जुम्लामा पुग्याे पाठ्यपुस्तक

जुम्ला – देशभर नयाँ शैक्षिक सत्र बैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । तर दुई शैक्षिक सत्र अघिदेखि हिमाली जिल्ला जुम्लामा पनि बैशाखदेखि नै सुरु हुने गरेको छ ।
समयमा पाठ्यपुस्तक पुर्याउन नसक्ने भएपछि सरकारले लादेरै भएपनि हिमाली जिल्लामा पनि बैशाखदेखि नै शैक्षिक सत्र सुरु गरेको हो । यो हिमाली जिल्लाका लागि अनुकुन नभएपनि राज्यको निर्णय मान्न करै छ ।


यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । सन्ध्या स्टेशनरीका प्रोपाईटर सुमन खड्कका अनुसार नयाँ शैक्षिक सत्रका लागि जुम्लामा चैत १७ गते पाठ्य पुस्तक पुगेको हो । उनले भने, कक्षा १–५ सम्मको १५ सय सेट र कक्षा ६–१० सम्मको दुई हजार सेट पाठ्यपुस्तक आईपुगेको छ । यहाँका ८ वटा स्कूलले पाठ्य पुस्तक लिएका छन् । अझै अडर आउदै छ । आन्दोलनका कारण शिक्षक बाहिर छन् । अहिले कमै मात्रमा विक्री भईरहेको छ । स्कुल खुलेपछि विक्री हुन्छन् होला ।
यहाँको सदरमुकाम खलंगामा जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक विक्रीवितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी सिंजाको कर्णाली र तिलाको दिप कैलाश स्टेशनरीले पाठ्यपुस्तक विक्रीवितरण गर्दै आएका छन् । जुम्लामा १४५ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस