राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

जुम्ला । जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । ४९ वर्षीय शाहीको सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो ।

अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले दाबी गरे । 

‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं । तर उहाँको राति नै मृत्यु भयो ।’ 

राउटे समुदायका मानिसहरू विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखिया अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउँला भन्नुभएको थियो । राति ९ बजेतिर उहाँको मृत्यु भइसक्यो ।’

तीन जना मुखिया रहेको राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण थिए । २०७२ जेठमा मुखिया चुनिएका उनी रास्कोटी शाही थरका हुन् । 

२१ घरधुरी वीरेन्द्रनगर–१३ करेखोला किनारामा बसिरहेका छन् । मुखिया शाहीको नेतृत्वमा बाँकी २१ घरधुरी बराहतालको सोतकोला किनाराहुँदै श्रीचौर नजिकै पुगेको थियो । राउटे समुदायको चलनअनुसार तीन वर्षको फरकमा छुट्टाछुट्टै बाँडिने गरेका छन् । रा राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी तीन थर छन् । मुखियाको मृत्यु भएपछि यो राउटेको संख्या घटेर १३५ मा झरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस