जलनका विरामी गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी

जुम्ला – सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट–नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । जलन र जलनपछिका जटिलता भएका बिरामीको गुणस्तरीय उपचार गर्न समझदारी गर्नुको उद्देश्य रहेको छ । साथै स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिमा आपसी सहकार्य स्थापित गर्ने त्रिपक्षीय समझदारीको उद्देश्य रहेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन कुमार रोकायाले बताए ।


समझदारीनुसार प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराइने छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा सैद्धान्तिक र व्यवहारिक तालिम प्रदान गरिने निमित्त उपकुलपति डाक्टर डबल बहादुर धामीले बताए । उनले भने, टेलिमेडिसिन सेवा, सर्जनको विनिमय कार्यक्रम, घुम्ती तालिम जस्ता गतिविधिले दुर्गम कर्णाली क्षेत्रका नागरिकलाई अत्यावश्यक बर्न सेवामा सहज पहुँच पु¥याउने अपेक्षा गरिएको छ ।


त्रिपक्षीय समझदारी अनुसार इन्टरप्लास्ट–नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । यसबाट विशेष गरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित सेवा प्रभावकारी रूपमा प्रदान गरिने जनाएको छ ।
समझदारीले अनुसन्धान र विकास क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने मार्ग खोलिदिएको छ । जसमा बर्न व्यवस्थापन सम्बन्धी डेटा साँझेदारी र अनुसन्धान परियोजनाको विकासलाई प्राथमिकता दिइने समझदारी पत्रमा उल्लेख गरिएको छ ।


समझदारीमा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोष विक्रम भण्डारी, सिईओका दिपेन्द्र सिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. धामी, मेडिकल डाइरेक्टर डा. रोकाया र इन्टरप्लास्ट–नेपालका उपाध्यक्ष डा. खाकिन्द्र बहादुर भण्डारी, शल्य चिकित्सा विभाग प्रमुख डा. निमरल थापाले हस्ताक्षर गरेका छन् । यस साझेदारीमार्फत नेपालमा बर्न उपचार सेवामा समान पहुँच, विशेषज्ञता विकास र सेवा विस्तारमा ऐतिहासिक पहल भएको भन्दै सबै पक्षहरूले उत्साह व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस