पूर्ण खोप सुनिश्चिता पालिका घोषणाका तस्बिरः पातारासी(बाँया),कनकासून्दरी (दायाँ)
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा आएसंगै घोषणा गर्नुपर्ने वार्षिक कार्यक्रमनुसार पातारासी र कनकासुन्दरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
‘स्थानीय स्रोतको उपयोग र सहभागिता,पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ नारा सहित सम्बन्धित पालिकाको स्वास्थ्य शाखाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालयको अगुवाईमा पालिका पूर्ण खोप सुनिश्चिता घोषणा भएका छन् । जुम्लाका आठ पालिकामध्य अन्य ६ पालिका घोषणा हुन बाँकी छ ।
शुक्रबार एक कार्यक्रमका बीच पातारासी गाउँपालिकाका कार्यवाहक अध्यक्ष बल बहादुर बोहराको सभाध्यक्षतामा पातारासीलाई पूर्णखोप पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा भएको हो । १९ महिनासम्मका खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप पुरा गरिने छ ।
सबै पालिकाहरूले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेपछि वार्षिक रूपमा जिल्ला र प्रदेश स्तरमा पनि यसको प्रमाणिकरण गरिने स्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताए । अन्य पालिकालाई पनि विस्तारै घोषणा गर्ने तयारी रहेको उनको भनाई छ ।
पातारासीका ५ बर्ष मुनिका ५ सय २७ जना बालबालिका रहेका छन । जसमा ०–१५ महिना सम्म २ सय १९ र १६–५९ महिना जम्मा ३ सय ८ र तेसैमा पुर्ण खोप प्राप्त २ सय ४८ रहेको छ ।
कनकासुन्दरी पनि पूर्णखोप सुनिश्चितता घोषणा
जुम्लाको कनकासुन्दरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । कनकासुन्दरीका १५ महिना मुनिका २०३ जना बालबालिकाहरूले नियमित खोप लगाएका छन् । १६ देखि ५९ महिना भित्रका पाँच सय ८८ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो । कनकासुन्दरीलाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाले जानकारी दिए ।
गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाएका छन् । बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला,झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको हुनुपर्ने मापदण्ड तोकिएकोमा घोषणा भएका पालिकाका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् ।



