पाँचौं रारा ट्रेल रनः जुम्लाका युवक र सुनमायाले जिते उपाधी

जुम्ला । मुगु जिल्लाको रारातालमा आयोजना भएको पाँचौं रारा ट्रेलरनको उपाधि जुम्लाका युवक राज बुढा र सुनमाया बुढाले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका– ३ युवक राज बुढा र महिलातर्फ जुम्लाकै पातारासी गाउँपालिका– २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि जित्न सफल भएका हुन् ।

रारा तालको पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले नेपाली सेनाले पाँच वर्षदेखि रारामा रारा ट्रेलरनको आयोजना गर्दै आएको छ । नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा शुक्रबार भएको रारा ट्रेल रनको पाँचौं सस्करणमा महिला तर्फ ३८ र पुरुष १ सय ७५ जना गरेर २ सय २३ जनाले सहभागिता जनाएका थिए ।

जसमध्य पुरुषतर्फ एक सय ७४ जना धावकलाई पछि पार्दै युवक राज बुढा रारा ट्रेलरनको प्रथम बनेका हुन् । उहाँले निर्धारित दुरी १६ किलोमिटरको एक घण्टा १२ मिनेट १८ सेकेण्डमा पार गर्नु भएको थियो । त्यस्तै कनकासुन्दरी गाउँपालिका– १ का सोमबहादुर रावत १ घण्टा १४ मिनेट १९ सेकेण्ड र कनकासुन्दरी– २ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

यसैबीच महिलातर्फका ३७ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासी गाउँपालिका– २ कि सुनमाया बुढा १ घण्टा २४ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै प्रथम हुँदा दोस्रो स्थानमा पनि जुम्ला पातारासी गाउँपालिका– २ की कल्पना बुढाले आएकी छन् । उहाँले १ घण्टा २५ मिनेट ३५ सेकेण्ड द्वितीय र जुम्लाकै गुठिचौर गाउँपालिका– ३ की राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेण्ड लगाएर तेस्रो भएकी हुन् ।

प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने महिला पुरुष तर्फका धावकहरुलाई त्रमशः नगद रु ५०,३०, र २० हजार,प्रमाण पत्र तथा मेडल प्रदान गरिएको छ । हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले खेलकुदका माध्यमबाट राराको पर्यटन प्रर्बद्धनका लागि विगत चार वर्षदेखी निरन्तर रारा ट्रेल रनको आयोजना गर्दै आएको बताए । उनका अनुसार प्रतियोगिताको आगामी दिनमा पनि निरन्तरता दिईने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस