दुर्गम घोडे गाउँमा विद्युतबाट चल्ने कुटानी पिसानी मिलको उद्घाटन गर्दै वडाध्यक्ष सहित अन्य व्यक्ति । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको ग्रामीण घोडे गाउँमा सौर्य ऊर्जाबाट सञ्चालित कुटानी–पिसानी मिलले स्थानीयको दैनिकी सहज बनाएको छ ।आर्थिक वर्ष २०८१–८२ मा कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ लाख रुपियाँको लगानीमा सौर्य ऊर्जाबाट सञ्चालित यो मिल पहिलोपटक गाउँमा सञ्चालनमा आएको वडाध्यक्ष जंग रोकायाले बताए ।
वडाध्यक्ष रोकायाले भने,‘पिठो, मकै लगायतका अन्न कुटानी–पिसानीका लागि दुई घण्टा हिँडेर छिमेकी गाउँ सुडी, रिपी वा कालिकोट जिल्लाको रताड पुग्नुपर्ने बाध्यता थियो। हिउँदमा खोला सुकेर र चैत, वैशाख, जेठमा खडेरीले घट्ट नचल्दा झनै समस्या हुन्थ्यो ।’
यो मिल सञ्चालनमा आएपछि गहुँ, मकै लगायतका अन्न पिस्नका लागि २–३ घण्टा हिँडेर पानीबाट चल्ने घट्टमा पुग्नुपर्ने बाध्यता हटेको छ । स्थानीयले अब गाउँमै सहज रूपमा कुटानी–पिसानी गर्न पाएका छन् ।



