जुम्ला । विद्यार्थीहरुलाई भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने भन्दै जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
सार्वजानिक यातायातमा अहिले सम्म कार्यान्वयन नभएको र विद्यार्थीहरुका लागि भाडामा ४५ प्रतिशत छुट तत्काल कार्यान्वयनको माग गर्दै ज्ञापन पत्र बुझाइएको जुम्ला बहुमुखी क्याम्पस जुम्लाका स्ववियू अध्यक्ष लोकेन्द्र बुढाले बताए ।
सरकारले विगतमा विद्यार्थी आन्दोलनका क्रममा गरेको ४५% भाडा छुटको निर्णय जुम्लामा अझै कार्यान्वयन हुन नसकेको प्रति गम्भीर ध्यानकर्षण गराउदैँ तत्काल लागु गर्न अनुरोध गरिएको उनको भनाइ छ ।
स्ववियू अध्यक्ष लोकेन्द्र बुढा र सचिव दत्तराज रावतको संयुक्त हस्ताक्षरमा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ,‘स्ववियुले दुर्गम क्षेत्रका विद्यार्थीहरूले राज्यको कानुनी व्यवस्था कार्यान्वयन भएको अनुभव गर्न पाउनुपर्ने भन्दै तत्काल कदम चाल्न आग्रह गर्दछौ । तत्काल भाडादरमा छुट नभए स्ववियू कडा कदम चाल्न बाध्य हुने छ ।’



