जुम्लाको आचार्यलिहिमा नवजात शिशु मृत फेला

जुम्ला – हिम गाउँपालिका – १ आचार्यलिही गाउँमा सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीय नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो ।


“कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर ग¥यौं,” उनले भने । इलाका प्रहरी चौकी नराकोटका बरिष्ठ हलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो । प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।


शवलाई मङ्गलबार बिहान पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला ल्याइएको छ । हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको बताए । शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस