जुम्ला । तिला गाउँपालिका वडा नं ४ बालविवाह मुक्त वडा घाेषणा भएकाे छ । जिल्लाका ६० वटा वडामध्य १६ ओै वडाका रुपमा तिला-४ बालविवाह मुक्त वडा घाेषणा भएकाे हाे । तिला-४ मा पर्ने सापुल्ली,रावतबाडा र नुवाकाेट गाउँ बालविवाह मुक्त घाेषणा भएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय र तिला गाउँपालिका अध्यक्ष माेतिलाल राेकायाले संयुक्त रुपमा तिला-४ लाई बालविवाह मुक्त वडा घाेषणा गरे ।सन् २०३० सम्म बालविवाह मुक्त गर्ने सरकारकाे राष्टि्य रणनीतिमा तिलाले ईट्टा थपेकाे छ ।
तिलाका ९ वटा वडामध्य ३ वटा वडा बालविवाह मुक्त घाेषणा भईसकेका छन् । यसअघि वडा नं ६ र ८ बालविवाह मुक्त घाेषणा भईसकेकाे छ । भने बाँकि वडा संगै पालिकालाईनै बालविवाह मुक्त बनाउनेगरी तिलाले काम गरिरहेकाे छ ।
तिला गाउँपालिका वडा नं ४ मा कूल २१ सय २४ जनसंख्या रहेका छन् । भने जम्मा ५ सय १५ घरधुरी छन् । जसमा बालबालिका मात्रै १५ सय ५ जना रहेका छन् । जसमा महिला ८९० र पुरुष ६१५ रहेका छन् । तिलाका ५१५ घरधुरी बालविवाह नगर्ने सामुहिक प्रतिबद्धता गरेका छन ।
वडा सचिव विष्णुराज बुढाले दिएकाे जानकारी अनुसार तिला-४ का तीन वटै वस्तीमा गत साल २ वटा बालविवाह भएकाे थियाे । बालविवाह विरुद्ध अभियान चलाएपछि चालू आवकाे हालसम्म बालविवाह शून्य रहेकाे वडा सचिव बुढाले बताए । उनले स्वागत मन्तव्य मार्फत समाजमा विद्यमान विकृतीका रुपमा रहेकाे बालविवाहलाई शुन्यमा झार्न सबैकाे प्रयास परिणाममा देखिएकाे उल्लेख गरे ।
गाउँपालिकाकाे महिला तथा बालबालिका शाखा,किर्डाक,वल्र्ड भिजन लगायतका निकायले संयुक्त रुपमा गाउँ गाउँमा बालविवाह विरुद्धकाे अभियान थालेपछि वडा नं ४ लाई बालविवाह मुक्त घाेषणा गर्न सफल भएकाे तिला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख गाैरी थापाले बताईन् ।
तिला गाउँपालिका कार्यपालिका सदस्य राजकन्या सार्कीले हामीले पाएकाे जस्ताे दुख छाेरा नातीले नपाउन भनेर बालविवाह विरुद्ध काे अभियानमा हाेमिएकाे बताईन् ।
उनले भनिन,’हामीले दु:ख पायाै, हाम्रा छाेराछाेरीले बालविवाहका कारण दुख नपाउन भनेर बालबााविवाह विरुद्धकाे अभियान चलायाै । विकास खर्च कटाएर पनि सामाजिक विकासमा हामी जटेका छाै । पहिलेकाे बालवाविवाह पछिकाे बहुविवाह हाे । बालविवाहले गर्दा शारिरिक,मानसिक रुपमा असर पर्छ त्यसैले अभियान चलाएर बालविवाहमुक्त वडा घाेषणा गर्न भयाे ।’
बालविवाह मुक्त वडा घाेषणा कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँई,वल्र्ड भिजनका जुम्लाका प्रमुख भेष बहादुर रावल लगायतले घाेषणा कार्यान्वयनका लागि जाेड दिए । बालविवाह कुरिती हाे,यसले शारिरिक मानसिक असर गर्छ भन्ने कुरा सबै बस्तीमा पुराउन जुट्नु पर्ने बताएका छन् ।
कार्यक्रममा तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढा,निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढा,९ वटै वडाका वडाध्यक्ष लगायत नागरिककाे बाक्लाे उपस्थितीमा तिला-४ बालविवाह मुक्त भएकाे छ । यसअघि जुम्लाका १६ वटा वडा बालविवाह मुक्त भईसकेका छन् ।



