सुरक्षाघेरा भित्रै रहेकाे चन्दननाथ मन्दिरकाे दानपेटिकाबाट रकम चाेरी

जुम्ला । कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरका राखिएकाे दानपेटिकाबाट रकम चाेरी भएकाे छ । प्रहरीकाे सुरक्षा घेराभित्र रहेकाे मन्दिरकाे दान पेटिकाबाट रकम चाेरी भएकाे हाे ।

अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजे ४० मिनेटमा दान पेटिका फाेडेर रकम चाेरी गरेकाे खुलेकाे छ । मन्दिरकाे सिसिटिभी फुटेजनुसार अज्ञात व्यक्तिले दान पेटिका फाेडेर रकम लिएकाे चन्दननाथ मन्दिरका नायब सुब्बा रत्नप्रसाद आर्चायले बताए ।

सुरक्षाकर्मी खाजा खान गएको माैका छाेपी चोरी गरिएको बताईएकाे छ । यदपी, प्रहरी यूनिट समेत खडा भएकाे मन्दिर भित्र दिन दहाडै दान पेटिकाकाे रकम चाेरी हुनुले सुरक्षा व्यवस्था निकै फितलाे भएकाे बुझिन्छ ।

चन्दननाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएकाे रकम चाेरी भएपछि मन्दिरकाे सुरक्षा मजबुद हुन नसकेकाे भन्दै प्रश्न खडा भएकाे छ ।

चाेरी गर्ने अज्ञात व्यक्तिकाे प्रहरीले खाेजी कार्य जारी राखेकाे छ । दानपेटिकाबाट करिब १२ हजार रुपैया चाेरी भएकाे अनुमान छ ।

केही वर्ष अघि मन्दिरबाट दत्रातय सहित अन्य बहुमुल्य मुर्ति चाेरी भएपछि मन्दिरकाे सुरक्षा व्यवस्था कडा हुन नसकेकाे भन्दै प्रहरी प्रशासन माथि प्रश्न उठ्दै आएकाे थियाे । मुर्ति चाेरी घटनाका दाेषी अहिले सम्म पत्ता लागेका छैनन् । मन्दिर भित्रकै दान पेटिका फाेडेेर रकम चाेरी भएपछि स्थानीय त्रसित भएका छन् ।

यता डिएसपी रविन बाबु रेग्मीले दान पेटिकाबाट रकम चाेरी भएकाे विषयमा जानकारी नआएकाे बताएका छन् । तर प्रहरीकाे सुरक्षा व्यवस्था निकै कमजाेर देखिएकाे छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस