जुम्ला । चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा आगलागी जन्य विपद्बबाट जाेगिन फायर हाइड्रेन्ट मेसिन जडान गरिएकाे छ । आगलागी जन्य विपदका घटना बढ्दै गएपछि विपद्बाट जाेगिन तथा हुन सक्ने क्षतिलाई कम गर्न जुम्ला बजारका विभिन्न ६ स्थानमा फायर हाईड्रेन्ट जडान गरिएकाे हाे ।
चन्दननाथ नगरपालिका संगको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा सञ्चालित शहरी पूर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवद्र्न परियोजना अन्तर्गत विपदबाट जाेगिन बजार क्षेत्रमा फायर हाइड्रेन्ट जडान गरिएकाे रेडक्रसले जनाएकाे छ ।
बजार क्षेत्रकाे कालेखाेली चाेक,जीपि स्टेशनरी नजिक,लगायत जाेखिमयुक्त ६ स्थान जहा आगलागी भएका बेला दमकल पुग्ने स्थिती छैन ती स्थानमा हाइड्रेन्ट जडान गरिएका छन् ।
चन्दननाथ नगरपालिकामा आगलागीकाे जाेखिम बढ्दाे क्रममा रहेकाेले उक्त जाेखिमलाई मध्यनजर गरी आगाे लागेकाे खण्डमा तत्काल निभाउन सहयाेग पुग्ने गरी मेसिन जडान भएकाे छ ।यसले आगाे नियन्त्रण र क्षति कम गर्न सहयाेग गर्ने अपेक्षा गरिएकाे छ ।
कूल १३ लाख ३७ हजार ४ सय ६८ रुपैयाँको लगानी अग्नि नियन्त्रक मेसिन जडान गरिएको छ । जसमा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको रु ३ लाख ९५ हजार १सय ६१ रुपैयाँ र वडा नम्बर ५ कार्यालयबाट ९ लाख ४२ हजार ३सय ७ लागत साझेदारी रहेकाे रेडक्रस सोसाइटी जुम्लाकी परियोजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिएकी हुन् ।
विगतमा बाल्टि,गाग्री प्रयाेग गरेर आगाे निभ्याउने,सडक साघुराे भएका कारण दकमल पुग्न कठिन हुने र आगाेले ठुलाे क्षति पुराउने समस्या रहेकाले अब त्यस्ता खाले सबै जाेखिम कम हुने समेत अपेक्षा परियाेजना संयाेजक सुवेदीले कर्णाली मिसनलाई जानकारी दिईन्।



