जुम्ला । तातोपानी गाउँपालिका मा कृषि सहकारी र विद्यालय विच दिवा खाजामा स्थानीय खाद्यान्न आपुर्ति चालु आर्थिक वर्षमा पनि नियमित हुने भएको छ ।
शनिवार गाउँपालिकाको आयोजनामा लिताकोटमा भएको खाद्यान्न आपूर्ति सम्बन्धि सिकाइ आदान प्रदान कार्यक्रममा विद्यालय र कृषि सहकारी विच खाद्यान्न नियमित रुपमा विद्यालय दिवा खाजाको लागि आपूर्ति गर्ने निर्णय भएको हो ।
स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमको हाल सम्मको समिक्षा गर्दै स्थानीय कृषि उत्पादन को दर रेट, विद्यालय दिवा खाजामा आवश्यक पर्ने परिमाण सहित सम्झौता प्रक्रिया अगाडी बढाइएको छ ।
पालिका भित्रका सामुदायिक विद्यालय र विगत १ वर्ष देखि विद्यालय दिवा खाजा मा स्थानीय कृषि उपज कृषक बाट संकलन गरी सामुदायिक विद्यालयहरुमा दिवा खाजा को लागि आपूर्ति गरिरहेका ६ वटा कृषक सहकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि प्रधानाध्यापकहरुले विगतको भन्दा दिवा खाजामा स्थानीय कृषि उपजको प्रयोग हुदा विद्यार्थिहरुको कक्षा छोड्ने दर घटेको, कृषकको आम्दानी वृद्धि भएको र विद्यालय लाई पनि सहज भएको बताए ।
साथै विश्व खाद्य कार्यक्रम रेरास र गाउँपालिकाको सहयोगमा भान्साघर निर्माण, भांडाकुडा व्यवस्थापन तथा शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि हुदा कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहज भएको कुरामा जोड दिएका थिय ।
धौलिगाड कृषि सहकारी संस्थाकी अध्यक्ष कविता पराजुलीले कार्यक्रम सुरुवातीमा केहि समस्याहरु आय पनि आफ्ना कृषकको उत्पादन आफ्नै बालबालिकालाई उपलब्ध गराउन पाउदा खुसी लागेको बताइन ।
साथै सहकारीको संस्थागत विकास भइ हाल दिवा खाजामा खाद्यान्न आपूर्तिको लागि आवश्यक भौतिक तथा जनशक्तिको व्यवस्थापन पनि गर्न सहज भएको र यस वर्ष पनि निरन्तर रुपमा माग भए बमोजिमको खाद्यान्न आपूर्ति गर्नेमा जोड दिइन ।
प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले पालिकाले दिवा खाजा मा लिएको नीति कार्यान्वयन गर्नु सबैको दायित्व भएको र स्थानीय कृषि उत्पादनको प्रयोगलाई अनिवार्य रुपमा दिवा खाजामा प्रयोग गर्नु पर्ने मा जोड दिए ।
साथै उहांले विश्व खाद्य कार्यक्रमले दिवा खाजा कार्यक्रम व्यवस्थापनको लागि तातोपानी गाउँपालिकामा क्षमता अभिवृद्धि, भान्साघर निर्माण लगायतको क्षेत्रमा करोडौ लगानी गरेको र पालिकाले यसको दिगोपाना तथा प्रतिफलको लागि आफ्नो श्रोत पनि परिचालनलाई निरन्तरता दिएको बताए ।
पालिका उपाध्यक्ष रेवती रावलले सहकारी संस्थाहरुले आफ्नो संस्थागत विकासमा जोड दिनु पर्ने, खाद्यान्न आपूर्तिलाई निरन्तरता दिनु पर्ने र बालबालिकाको पोषण र स्थानीय कृषकको आयआर्जनलाई वृद्धि गर्न कार्यक्रम फलदायि हुने बताए ।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सुरुवाती समयमा दिवा खाजा कार्यक्रम व्यवस्थापन मा केहि समस्या देखिए पनि निरन्तरको छलफल र प्रयास पछि पालिका आफैले पनि स्थानीय कृषि उपजको प्रयोग गरि दिवा खाजा व्यवस्थापनमा निरन्तर गर्न सकिने बताए ।
समय सापेक्ष रुपमा कृषकको उत्पादनको मुल्य सुचिमा केहि परिवर्तन गरिएकोले सहकारी र विद्यालय दुबैले खाद्यान्न आपूर्ति तथा प्रयोगमा सहजता आउने बताए । साथै उनले दिवा खाजा संग जोडिएका भौतिक पूर्वाधार लगायतका समस्याहरु विद्यालयको तर्फबाट पालिकामा पेश गरेको खण्डमा पालिकाले सम्बोधन गर्दै जाने मा जोड दिए ।
चालु आर्थिक वर्षमा शैक्षिक सुचना प्रणाली अनुसार बाल विकास देखि कक्षा ५ सम्म ३१ वटा विद्यालयमा २५०१ विद्यार्थि रहेको र १ करोड बराबरको स्थानीय खाद्यान्न विद्यालय दिवा खाजामा प्रयोग हुने अनुमान गरिएको छ ।



