कपडा हस्तान्तरणमा सहभागी विद्यार्थी लगायत अन्य । तस्बिरः कर्णाली मिसन
जुम्ला । जेआर कर्णाली बोर्डिङ स्कुलले जुम्लामा संचालित कपडा बैंकलाई कपडा सहयोग गरेको छ । विहिबार एक कार्यक्रमका बीच स्कुलले सामाजिक सेवा भाव र विपन्न नागरिकको राहतका लागि कपडा सहयोग गरेको हो ।
जेआर कर्णाली बोर्डिङ स्कुलका प्रिन्सीपल अम्मरनाथ योगीले चन्दननाथ नगरपालिका वडा नं. ५ कालेखोलीमा संचालित कपडा बैंकलाई स्कुलको तर्फबाट तीन बोरा कपडा हस्तान्तरण गरिएको बताए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती विद्यार्थीहरूले विद्यालय मार्फत सङ्कलन गरेका कपडाहरू कपडा बैंकलाई हस्तान्तरण गरिएको उनको भनाई छ ।
विपन्न नागरिकको राहतका लागि केही महिनाअघि संचालनमा आएको कपडा बैंकमा विद्यालयले सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्दै कपडा सहयोग गरेको छ । विद्यालयमा औपचारिक शिक्षा प्रदान संगै विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउनका लागि पनि कपडा संकलन गर्न लगाई विद्यार्थीहरुकै उपस्थितीमा बैंकलाई हस्तान्तरण गरिएको छ ।
कपडा बैंकका संचालक कृष्ण विकले कपडा अभाव रहेको अबस्थामा जेआर बोर्डिङ स्कुलले सहयोग प्रदान गर्दा अब सहज हुने बताए । उनका अनुसार कपडा अभावका कारण सेवा नियमित गर्न कठिन भएको भन्दै विद्यार्थीबाट प्राप्त सहयोगले बैंकलाई फेरि सक्रिय हुने छ । पहिले जस्तै कपडा डोनेसन निरन्तर नआएकाले अहिले साप्ताहिक दुई दिन सोमबार र बिहीबार मात्र कपडा वितरण गर्ने गरिएको छ ।



