जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारथ हिमा गाउँपालिका वडा नं ३ का डिकेशनाथ याेगीकाे मृत्युपछि भएकाे आन्दाेलनलाई शान्त बनाउन पहल समिति गठन गरिएकाे छ ।
प्रतिष्ठानका डाक्टरकाे चरम लापरबाहीले याेगीकाे मृत्यु भएकाे भन्दै शनिवार विहानैदेखी आफन्त आन्दाेलित थिए । आन्दाेलित आफन्त र सराेकारवाला बीच जिल्ला प्रशासन जुम्लामा बसेकाे बैठकले पहल समिति गठन गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे संयाेजकत्वमा पिडित परिवारलाई राहत तथा क्षतिपुर्ति दिलाउने सात सदस्यीय पहल समिति गठन गरेकाे हाे ।
जसकाे सदस्यमा बद्रीनाथ याेगी, डाक्टर विनम्र विष्ट,पूर्ण प्रसाद चाैलागाई,रतननाथ याेगी, विष्णु बहादुर महत सदस्य र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीन बहादुर रावल सदस्य सचिव रहने गरि सात सदस्यीय समिति गठन गरिएकाे छ ।
साथै दुई नम्बर निर्णयमा मृत्तकका आफन्तलाई राहत तथा क्षतिपुर्ति दिने विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति जुम्ला आईसकेपछि छलफल गर्ने निर्णय गरेकाे छ ।
पिडित परिवारलाई अबकाे तीन दिन भित्र राहत तथा क्षति पुर्ति दिलाउनका लागि पहल गर्ने निर्णय गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए ।
उनले भने,’नवनियुक्त उपकुलपति संग कुरा भयाे । उनी भाेली जुम्ला आउदैँ छन् । राहत र क्षतिपुर्तिकाे कुरा उपकुलपति नआई नहुने भयाे । त्यसैले पहल समिति बनेकाे छ । पिडितले अब कुनै हल हुज्जत, आन्दाेलन नगर्ने सहमति भएकाे छ ।’
यदपी राहत क्षतिपुर्ति नपाए सम्म शव नउठाउने पिडित पक्षकाे अडान छ । उपकुलपति डाक्टर पुजन राेकाया आएपछि फेरि बैठक बस्ने भएकाे छ ।



