जुम्ला । जुम्लाको तिला गाउँपालिकामा तोडफोडपछि तालाबन्दी गरिएको छ । वडा नं. ३ स्थित कुडारी, खोलिगाउँ लगायत गाउँका यूवाले पालिकाको एम्बुलेन्स उपलब्ध नभएको भन्दै कार्यालय तोडफोडपछि तालाबन्दी गरेका हुन् ।
वडा नं. ३ की एक महिलालाई सुत्केरी बेथाले च्यापेपछि स्थानीय यूवाले अस्पताल लैजान पालिकाको एम्बुलेन्स पठाउन फोन गरेका थिए ।
तर एम्बुलेन्स चालकले आउन ढिलाई गरेको, पछि आनकाने गरेपछि आवेगमा पालिका पुगेका यूवाले गाउँपालिकाको प्रशासनिक भवनमा तोडफोड गरेको खुलेको छ ।
पालिकामा ताेडफाेड गरेपछि ती यूवाहरुले एम्बुलेन्सको चावीनै थुतेर आफै चलाएर लिएका छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले एम्बुलेन्स नपठाएको निउँमा कार्यालयमा तोडफोड गरेको बताए । उनका अनुसार घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन प्रक्रिया अघि बढाईने छ ।
त्यस्तै उपाध्यक्ष गोरीकला बुढाले एम्बुलेन्स चालकको फोन नउठे, समयमै नपुगेको विषयमा हामीलाई भन्नुको सट्टा कार्यालय तोडफोड गरेर ठुलो क्षति पुराएको बताईन् ।
उनले भनिन,‘चालकहरुको कमजोरीका कारण जनप्रतिनिधिले गाली खाने र पालिकामा क्षति पुग्ने काम भयो । यस विषयमा चालकलाई स्पष्टीकरण सोध्ने र पालिकामा क्षति पुराउनेलाई कानुनी दायरामा ल्याउँछा्रै ।’
‘सुत्केरी अस्पताल लिन समयमै एम्बुलेन्स नपुगेकाेमा हामी दुखि छाै । त्यहि कुरा मलाई भनेकाे भए अर्काे चालक व्यवस्थापन गरेर भएपनि पठाउथे । तर सिधै पालिका पुगेर ताेडफाेड गरेछन् । यश विषयमा छलफल गर्छाै ।’ उपाध्यक्ष बुढाले भनिन ।
भर्खर निर्माण भई संचालनमा आएको तिला गाउँपालिकाको भवनमा रहेको सिसि क्यामरा, सूचना पार्टी, झयाल, ढोका, डिजिटल बोर्ड लगायत सामाग्रीमा क्षति पुगेको उपाध्यक्ष बुढाले जानकारी दिईन् । उनका अनुसार तोडफोडबाट पालिकाको लाखौको क्षति भएको छ । एकिन विवरण आउन भने बाँकी रहेको छ ।



