जुम्ला – नेपाल भरसहित जुम्लामा पनि सामुदायिक विद्यालय र संस्थागत विद्यालय छन् । यहाँका अधिकांश सामुदायिक विद्यालयमा शौचालय भएपनि सरसफाई र व्यवस्थित नहुने गरेको किशोरीहरुले गुनासो गरेका छन् । जुम्लामा आधारभुत र माध्यामिक गरी करिव डेढ सय सामुदायिक विद्यालय छन् । यिनै विद्यालयमा करिव ४३ हजार विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय सरसफाई, खानेपानी र शौचालय निर्माणका लागि थुप्रै बजेट खर्च भएको हुन्छ । खानेपानी र शौचालयका संरचना निर्माण भएका पनि हुन्छन् । तर सामुदायिक विद्यालयका शौचालय सरसफाई नहुदा छिर्न सकिने अवस्थाका हुदैनन् ।
सर्बाेदय नेपाल जुम्लाले गुठीचौर गाउँपालिका – १ मणिसाँघुमा सञ्चालन गरेको युवा किशोरीहरुलाई शिक्षा, लैगिंक समानतामा अर्थपूर्ण सम्बद्ध स्थानीय निकायहरु बीच समन्वयात्मक छलफल कार्यक्रममा यस्तो गुनासो आएको हो ।
कार्यक्रममा उपस्थित किशोरीले भनिन् सामुदायिक विद्यालयका शौचालय सरसफाई हुदैनन् । शौचालयमा चुकुल नहुदैनन् । भएपनि बालमैत्री हुदैनन् । उदाहरणका रुपमा यही मणिसाँघुस्थित खड्कदेवि माध्यामिक विद्यालयका शौचालय पनि व्यवस्थित छैनन् । सरसफाई छैनन् । महिनावारी हुने उमेर समुहका किशाोरीलाई स्यानिटरी प्याड दिने त गरिएको छ । तर त्यसलाई व्यवस्थापन गर्ने ठाउँ हुदैन । यस्ता किसिमका विद्यालयमा थुप्रै समस्या छन् । तर यसको दिगो समाधान हुने गरेको छैन ।

गुठीचौर गाउँपालिका महिला बालबालिका शाखा प्रमुख सुस्मिता थापाले भनिन् विद्यालयमा देखिने यस्ता समस्यालाई समाधान गर्नका लागि किशोरकिशोरी आफै सक्रिय हुनुका साथै विव्यस, शिक्षक र कर्मचारीले ध्यान दिनु पर्दछ ।
यस्तै गाउँबस्तीमा गठन गरिएको बालक्लव, किशोरकिशोरी र युवा क्लवले सामाजिक हानिकारण अभ्यास जस्तै महिनावारी विभेद, बालविवाह, लैगिंक विभेद, जातिय विभेद, घरेलुहिंसा नियमन न्यूनिकरण गर्न आवाज उठाउनु पर्दछ । अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षण पनि गर्न आवश्यक देखिएको उनले बताइन् ।
अधिकारको खोजीसँगै नागरिकले कर्तव्य पनि पुरा गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश, शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले बताइन् । उनले भनिन्, गाउँ बस्तीमा कुरिति र कुस्कारका विषय थुप्रै छन् । यिनै विषयलाई न्यूनिकरण गर्नुका लागि नागरिक सचेत हुनुका साथै वकालत गर्नुपर्ने देखिएको छ । चुपलागेर बस्नु हुदैनन् ।
छलफलका क्रममा विद्यालयको शौचालय सरससफाईका कुरा उठे । यसमा विद्यार्थी पनि सक्रिय भएर सरसफाईका लागि विव्यस अध्यक्ष र प्रधानाध्यापकको ध्यानाकर्षण गर्नुपर्दछ । त्यसबाट पनि समस्या समाधान नभएर त्यो भन्दा माथिल्लो निकायसम्म कुरा पु¥याउन सक्नु पर्दछ । समस्या सहेर बस्नु हुदैन । चुप लागेर बस्नु हुदैन, उनले भनिन् ।

एक दिवसीय समन्वयात्मक छलफल कार्यक्रम, आमा समुहका सहजकर्ता, किशोरी समुहका सहजकर्ता र बालक्लवका सहजकर्तासहित पदाधिकारीहरुको सहभागिता रहेको अनुगमन अधिकृत देवेन्द्र आचार्यले बताए । उनले भने, सहभागीमार्फत प्रजनन् स्वास्थ्य, किशोरी शिक्षा, बालविवाह विरुद्धका सचेतनामुलक पोस्टर, ब्रुसर, पम्पिलेटसमेत वितरण गरिएको छ ।



