कर्णालीका १२ निर्वाचन क्षेत्रबाट १३७ उम्मेदवार चुनावी मैदानमा

जुम्ला । कर्णाली प्रदेशका १० जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट १ सय ३७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कर्णालीका १० जिल्लाका १ सय ३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

कर्णाली प्रदेशका १० जिल्ला मध्य सुर्खेत र दैलेखमा २/२ वटा निर्वाचन क्षेत्र र अन्य आठ जिल्लामा १/१ निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा विभिन्न दलका १ सय ३८ जना निर्वाचनमा होमिएका छन् ।

जसमा स्वतन्त्र उम्मेदवार १३ जना, महिला उम्मेदवार ११ जना र  दलित उम्मेदवार १८ जना.सहित अन्य गरेर १३७ जना उम्मेदवार चुनावी मैदानमा अग्रसर भएका छन् । कालिकोट नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले आफ्‌नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।

१३७ जना उम्मेदवार मध्य सबै भन्दा बढी ३ जना स्वतन्त्र र ४ जना दलित सहित १७  उम्मेदवार सुर्खेत क्षेत्र नं २ बाट १७ जना चुनावी मैदानमा छन् । भने सबैभन्दा कम मुगुबाट एक जना दलित सहित ७ जना उम्मेदवार छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लाबाट एक जना स्वतन्त्र सहित १० जना चुनावमा होमिएका छन् । नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाही फेरी दोहोरिने दाउमा उम्मेदवार उठेका छन् । एमाले, काग्रेसबाट नयाँ अनुहारलाई अघि सारिएको छ ।

त्यसैगरी, सल्यान जिल्लाबाट २ जना स्वतन्त्र सहित १६ जना, डोल्पामा एक स्वतन्त्र सहित ९ जना,हुम्लामा ८ जना, कालिकोटमा ४ जना स्वतन्त्र सहित १६ जनाले उम्मेदवारी दिएका छन् । जसमा काँग्रेस नेता भुपेन्द्र जंग शाहीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।

एता जाजरकोटमा १६ जना, रुकुम पश्चिमा १२ जना, दैलेख क्षेत्र नं १ मा १० जना  र क्षेत्र नं. २ मा २ जना स्वतन्त्र सहित ११ जना चुनाव लड्दा सुर्खेत क्षेत्र १ बाट भने १३ जनाको उम्मेदवारी परेको छ ।

अधिकांश नयाँ अनुहार देखिएपनि एजेण्डा विहिन देखिन्छन् । चुनावी घोषणापत्र बिनै घरदैलो गरिरहेका उम्मेदवारले हचुवामा भोट मागि रहेका छन् । विगतमा के गरे र भविष्यमा के गर्ने छु ? भन्ने प्रतिबद्धता पत्र मतदाताले मागे पनि उम्मेदवारहरु पनि मुखैले मतदाता रिजाउने प्रयास गरिरहेको देखिन्छ .।

प्रतिनिधि सभातर्फ १२ वटा मात्रै निर्वाचन क्षेत्र रहेको कर्णालीले १३७ जना मध्यबाट १२ जनालाई मात्र निर्वाचित गरी संघिय संसदमा पठाउने छ । विगतको विगतका चुनावमा भन्दा फागुन २१ गते हुने निर्वाचनमा आर्कषण पनि बढेको देखिन्छ । यदपी, महिला उम्मेदवार भने तुलनात्मक रुपमा निकै कम रहेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको जुम्लामा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिदा कसलाई मत दिने भन्नेबारे जुम्ली मतदाता दोधारमा छन् । नेकपाका नरेश भण्डारी र राप्रपाका ज्ञानेन्द्र बहादुर शाहीले आफु जित्ने दाबी गरेपनि एमालेका शान्ति लाल महत २६ वर्षपछि एमालेको विरासत फर्काउने दाउमा छन् । उता नेपाली काँग्रेसका दिप बहादुर शाही पनि जुम्ली जनताले आफुलाई जिताउने दाबी गर्छन् ।

देशभरीनै चलेको रास्वपा लहरले जुम्ली मतदाताले यस पटक मत परिवर्तन गरेर जुम्लीमा घण्टी बजाउनेमा रास्वपा उम्मेदवार विनिता कठायतपनि ढुक्क छन् । उम्मेदवारले आआफ्‌नै दाबी गरेपनि जनताले कसलाई अनुमोदन गर्छन् भन्ने अहिलेनै भन्न सकिने अबस्था छैन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस