मोडेल जिल्ला, सांस्कृतिक राजधानीदेखि सिंजामा छुट्टै अस्पतालसम्म

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट उठेका उम्मेदवारले मतदाता रिजाउन महत्त्वकाँक्षी घोषणा गरेका छन् । चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ केन्द्रित भएका उम्मेदवारले जुम्लालाई मोडेल जिल्लाको रूपमा विकास गर्नेदेखि सांस्कृतिक राजधानी बनाउने एजेण्डालाई प्राथमिकता दिएका छन् ।

नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले जुम्लाको सिंजा क्षेत्रमा छुट्टै अस्पताल निर्माण गर्ने बताएका छन् । एमालेकै सरकारले दुर्गमका सिंजाका नागरिकको राहतका लागि नापी मालपोत स्थापना गरेको भन्दै निर्वाचनमा आफुले जितेमा सिंजामै सुविधा सम्पन्न अस्पताल निर्माण उनको घोषणा छ ।

हालसम्म जितेका उम्मेदवारले सिंजा क्षेत्रलाई उपेक्षा गरेको भन्दै तिला, हिमा, सिंजा र कनकासुन्दरीका ४० हजार नागरिकले गाउँमै विशषज्ञ सेवा पाउने गरी अस्पताल निर्माणको योजना अघि सारेका छन् । पार्टीको घोषणा पत्र सार्वजनिक हुन बाँकी रहे पनि महतले जुम्लाको जल, जमिन, जडिबुटी र जंगलको सही सदुपयोग गरी प्रयोग गरी समृद्ध जुम्ला बनाउने खाका तयार गरेको उल्लेख गरेका छन् ।

२०५६ पछिको चुनावमा सधै पराजय भोगेको एमाले झण्डै २६ वर्ष यो चुनावमा आफ्नो विरासत जोगाउने लक्ष्यमा छ । अस्पताल निर्माणले सिंजा क्षेत्रका तिन पालिकाका ४० हजार नागरिकले प्रत्यक्ष राहत पाउने छन्,’ उनले भने, ‘कनकासुन्दरीमा निर्माण भइरहेको अस्पताल अलपत्र छ । त्यो अस्पताल बन्ने टुंगो छैन । तीन पालिकाका नागरिकका लागि पायक पर्ने स्थानमा म निर्वाचित भएपछि अस्पताल बनाउँछु । यो मेरो प्रतिबद्वता मात्र होइन । जनताको आशा र भरोसा प्रतिको संकल्प हो ।’

साथै सिंजा क्षेत्रका नागरिकका लागि एमाले सरकारकै पालामा नापी र मालपोत कार्यालय स्थापना भएको र आफूलाई जिताएर पठाएमा अस्पताल बनाएरै छाड्ने उनको भनाइ छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले भने जुम्लालाई मोडेल जिल्लाका रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो पटक होमिएका भण्डारीले सडक, पूर्वाधार, जलविद्युत्, भाषा, सांस्कृतिक तथा सभ्यताको संरक्षण र विकास गरी मोडेल जिल्ला बनाउने एजेण्डा अघि सारिएको उल्लेख गरे ।

नेपाली भाषा र साहित्यको उद्गमस्थल जुम्लालाई साँस्कृतिक राजधानी बनाउन बहस सुरुवात गर्ने उनको भनाइ छ । ‘यद्यपि सांस्कृतिक राजधानी बनाउने भनेर भोट माग्ने पक्षमा छैन्,’ उनले भने, ‘तर काठमाडौँ राजनीतिक तथा प्रशासनिक क्षेत्रको राजधानी बन्ने तर देशलाई भाषा, साहित्य र सभ्यता दिने जुम्ला साँस्कृतिक राजधानी किन नबन्ने ? यो प्रश्न हामी उठाउँछौ । संसदमा बहस छेड्छौ ।’

साथै जुम्लामा ७२ मेघावाट क्षामताको तिला जवा जलविद्युत आयोजना, सिंजा सभ्यताको विकास, सिंजा क्याम्पसको स्तरोन्नति, कृषि उत्पादनको बृद्वि तथा बजारीकरणमा जोडलगायतका कुरामा विशेष जोड दिइने उम्मेदवार भण्डारीले उल्लेख गरे । त्यसैगरी सिंजाको विकासका लागि विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने एजेण्डा अघि सारिनेमा जोड दिए । जनसंख्याका आधारमा बजेट विनियोजन गर्ने राज्यको नीतिले जुम्ला सधै पछि पर्‍यो । उनले थपे, ‘अब जुम्लासहित कर्णालीको विकासका लागि भूगोलका आधारमा बजेट विनियोजन गर्न नीति नै बदल्नु पर्ने आवश्यकता देखिएको छ । त्यतातिर पनि हामी ध्यान दिनेछौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रो पटक उम्मेदवार बनेका ज्ञानेन्द्रबहादुर शाहीले जुम्लालाई विश्वमा चिनाउने र यहाँको सडक पूर्वाधारदेखि पर्यटन विकासलाई गति दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

भने त्यसैगरी कांग्रेसका उम्मेदवार दीपबहादुर शाही, रास्वपाका उम्मेदवार बिनिता कठायत, प्रलोपाका मनऋषि धिताल लगायतका उम्मेदवार जुम्लाको कृषि क्षेत्रलाई बढवा दिने समृद्ध जुम्ला निर्माणका एजेण्डालाई प्राथमिकता दिएका छन् । जुम्लामा एकजना स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् भने ७१ हजार बढी मतदाता रहेको जुम्लामा ११० वटा मतदानस्थल छन् ।

प्रकाशित मिति : २०८२ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस