तातोपानी गाउँपालिका उपाध्यक्षमाथि कुटपिट, दोषीलाई कारवाहीको माग

जुम्ला – तातोपानी गाउँपालिका –३ लिताकोटमा गाउँपालिका उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ । फागुन १८ गते साँझ उपाध्यक्षको घरमै आएर कुटपिट गरिएको उनका श्रीमान भक्तबहादुर रावलले बताए । उनका अनुसार तिलाकोट गाउँकै आइते सार्की, उनका छोरा नरी सार्की, आइते सार्कीका दुई छोरी र दुई बुहारीसमेत मिलेर सामुहिक कुटपिट गरेका हुन् ।
रावलका अनुसार कुटपिट गर्ने समूहले मादक पदार्थ सेवन गरेको अवस्थामा श्रीमतिमाथि आक्रमण गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएकी छन् ।


हाल उपाध्यक्ष रावलको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । हाल बोल्न समस्या भइरहेको र टाउकोमा गम्भीर चोट लागेको छ । घटनापछि पीडित पक्षले आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा फागुन १९ गते उजुरी दिएका छन् । प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । सामान्य विवाद पनि नभएको अवस्थामा आफूमाथि आक्रमण भएको उपाध्यक्ष रावलले बताए । उनका अनुसार कुटपिट गर्नेले एकपटक आफ्नो लागि एउटा भ¥याङ बनाइदिएका थिए । त्यो भ¥याङ बनाए बापत पैसा पनि लिई सकेका हुन् । अरु उनीहरुसँग कुनै कारोबार छैन ।


यसभन्दा अघि पनि ममाथि गाउँमै कुटपिट गरिएको हो । त्यतिबेला गाउँको कुरा हो भनेर मिलापत्र गरियो । अहिले पनि पुर्न कुटपिट गरिएको छ । कुनै पनि हालतमा मिलापत्र नगर्ने र दोषीलाई कानुनी कारवाही गर्न माग गर्दछु । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले भने, प्रहरीमा निवेदन आएको छ । घटनाका आरोपितलाई बोलाएका छौँ । यदि आफै नआए नियन्त्रणमा लिने छौँ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस