जुम्ला – कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ । एउटै पालिकामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । अहिले शाही एक हजार ४५८ मतले अगाडि छन् ।
यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ मत, विनिता कठायतले ३६ मत प्राप्त गरेकी छन् । साथै १५५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
हालसम्मको गणनामा हलो र ताराबिच एक हजार ४५८ मतको अन्तर देखिएको छ । प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी पालिकाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ । मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् । ३० हजार ८४१ मत खसेन ।



