७० लाखमा बन्ने ‘कसंम कला घर’ शिलान्यास, लगानी जुटाउने प्रतिबद्धता

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकामा स्थानीय कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कसंम कला घर’ निर्माणको शिलान्यास गरिएको छ । शुक्रबार कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाईको उपस्थितीमा कसम कला घरको शिलान्यास गरिएको हो । कनकासुन्दरीमा निर्माण गर्न थालिएको कसम कला घरलाई पुर्णता दिन त्यहाका स्थानीय जुटेका छन् । उक्त कसम कला घर निर्माणका लागि झण्डै ७० लाख लगानी लाग्ने लागत अनुमान गरिएको छ ।

उक्त कला घरमा स्थानीय युवाहरूले गाउने, नाच्ने, दमाहा बजाउने तथा विभिन्न सांगीतिक कला सिक्ने अवसर पाउने छन्। साथै, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि स्थानीय संस्कृति झल्कने मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिने कसम कला घरको योजना रहेको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य टेकराज पछाईले कसम कला घर निर्माणलाई पूर्णता दिन आफुले सक्दो सहयोग गर्ने बताए । विभिन्न तहबाट आर्थिक सहयोग जुट्दै गएपनि स्रोत अपुग भएकाले सबै संग हातेमालो गरी कसम घरलाई पूर्णता दिईन् उनको भनाई छ । कसम कला घर निर्माणका लागि सामाजिक विकास कार्यालयले १५ लाख रुपैयाँ सहयोग गरेको छ । भने कनकासुन्दरी गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बाँकी बजेट जुटाउन त्यहाँका यूवाले सहयोग संकलनको अभियान समेत थालेका छन् ।

खष भाषा साहित्य, सभ्यता र संस्कृति जर्गेना गर्ने लक्ष्य सहित निर्माण थालिएको कसम घरको पूर्वाधार बजेट अभावले अलपत्र पर्न नदिन कनकासून्दरीका जनप्रतिनिधिदेखी स्थानीय यूवा सक्रिय रुपमा जुटेका छन् । त्यस्तै, कनकासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बढुाले आफ्नो एक महिनाको तलब कला घर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता गरिन् ।

भने वडा नम्बर १ का अध्यक्ष भीम भण्डारीले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान समेत गरे । कला घर निर्माणका लागि आवश्यक ६०० वर्गमिटर क्षेत्रफलको जग्गा स्थानीय जग्गाधनीले कुनै पनि लाभ नलिई निःशुल्क दान गरेका हुन्। निर्माण सम्पन्न भएपछि उक्त कला केन्द्रमा करिब ३०० जना दर्शक अट्ने क्षमता रहने बताइएको छ ।

कसंम कला घरका अध्यक्षका अनुसार यस कला घरको बजेट पहिलेदेखि नै छुट्याइएको भए पनि जग्गा व्यवस्थापनमा समस्या हुँदा निर्माण सुरु हुन नसकेको उल्लेख गरे । कला घर निर्माण भएपछि गाउँ समाजमा लुकेर रहेका प्रतिभाहरू उजागर हुने, नयाँ पुस्ताले सांस्कृतिक कला सिक्ने अवसर पाउने र गाउँमा सांस्कृतिक गतिविधि बढ्ने विश्वास गरिएको छ । स्थानीयका अनुसार यसले कनकासुन्दरी गाउँपालिकामा पर्यटन प्रवद्र्धन र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस