विकासको ‘इन्जिनियरिङ’ गर्ने जिम्मेवारीमा सुनिल लम्साल

नेपालमा जुन मन्त्रालय हो, सोही क्षेत्रको विज्ञले नेतृत्व गर्नुपर्छ भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । खासगरी भौतिक पूर्वाधार जस्तो प्राविधिक मन्त्रालयमा विषयवस्तु बुझेको व्यक्ति नहुँदा आयोजनाहरू अलपत्र पर्ने र गुणस्तरहीन काम हुने गरेको गुनासो सुनिने गर्छ ।

फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्राविधिक पृष्ठभूमि र पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव बोकेका लम्सालबाट अब देशको भौतिक विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

वि. सं. २०४७ साल असोज ८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका (बिर्घा) मा जन्मिएका सुनिल लम्सालको बाल्यकाल पहाडी परिवेशमा बित्यो । २०५२ सालमा उनको परिवार रुपन्देहीको बुटवल झरेको थियो । हाल उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । सामान्य परिवारमा जन्मिएका लम्सालले आफ्नो प्रारम्भिक शिक्षा र उच्च शिक्षामा सधैँ अब्बल नतिजा ल्याउँदै आए ।

उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । त्यसपछि छिमेकी मुलुक भारतको निट्टे मिनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर सम्पन्न गरे । अध्ययनप्रतिको उनको रुचि यतिमा मात्र सीमित रहेन, हाल उनी काठमाडौं विश्वविद्यालयबाट ठोस फोहोरमैला व्यवस्थापन’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।

मन्त्री लम्साल केवल राजनीतिकर्मी मात्र नभएर एक अनुभवी प्राविधिक विशेषज्ञ पनि हुन् । राजनीतिमा पूर्णकालीन हुनुअघि उनले देशका महत्त्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रत्यक्ष काम गरिसकेका छन् ।

उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विराटनगर विमानस्थल जस्ता रणनीतिक महत्वका आयोजनाहरूमा प्राविधिक भूमिका निर्वाह गरेका थिए । यति मात्र होइन, ऐतिहासिक सिंहदरबारको पुनर्निर्माणमा पनि उनको विज्ञता उपयोग भएको थियो ।

काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञका रूपमा काम गर्दा उनले सहरी व्यवस्थापनका जटिलतालाई नजिकबाट नियालेका छन् । उनले देशका ३५ जिल्लामा नमुना विद्यालय भवन र १२ जिल्लामा अस्पतालका भौतिक पूर्वाधार निर्माणमा समेत योगदान पुर्‍याएका छन् । पछिल्लो समय उनले रुपन्देहीमा निर्माणाधीन ‘एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम’को पूर्वाधार विकासमा पनि सहजीकरण गर्दै आएका थिए ।

राजनीतिक र संसदीय यात्रा

सुनिल लम्सालको पहिचान पछिल्लो समय रास्वपाको एक प्रभावशाली र वैचारिक नेताका रूपमा स्थापित छ । पार्टी स्थापनादेखि नै नीतिगत र सांगठनिक काममा सक्रिय उनी हाल रास्वपाको महामन्त्रीको चर्चामा रहे पनि औपचारिक रुपमा नियुक्त भने भएका छैनन् ।

उनी फागुन २१ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसद् प्रवेश गरेका हुन् । चुनावका क्रममा उनले ‘प्राविधिक दक्षता र व्यवस्थापकीय सोचसहितको राजनीति’को एजेन्डा अघि सारेका थिए । परम्परागत राजनीतिको साटो ‘डेलिभरी’मा विश्वास गर्ने उनलाई रुपन्देहीका मतदाताले विकासको आशासहित भारी मत दिएर पठाएका हुन् ।

नयाँ मन्त्रीसामु चुनौती नै चुनौती

विज्ञको रूपमा प्रशंसा बटुले पनि मन्त्रीका रूपमा लम्सालको अगाडि ठुलो चुनौती छ । यसअघिको भौतिक पूर्वाधार र सहरी विकास समेत गरी उनको मन्त्रालयले साढे २ खर्ब धन्दा बढीको विकास परियोजना सञ्चालन गर्नुपर्छ । 

नेपालका ठुला भौतिक पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने, सडकको दुरावस्था अन्त्य गर्न र यातायात क्षेत्रको सिन्डिकेट हटाउनु गर्नु उनको पहिलो प्राथमिकता हुनुपर्नेछ । 

वर्षौंदेखि अलपत्र परेका पुल र सडकका ठेक्काहरूलाई गति दिने वा कानुनी कारबाहीको दायरामा ल्याउने चुनौती उनीसामु छ । बढ्दो सहरीकरणलाई व्यवस्थित गर्दै स्मार्ट सिटी र फोहोरमैला व्यवस्थापनको दिगो मोडल बनाउनु उनको अर्को चुनौती हो । बालेन काठमाडौंको मेयर रहँदा गर्न नसकेको फोहोर व्यवस्थापनको जिम्मेवारी अब उनको काँधमा आएको छ । 

सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित र प्रविधिमैत्री बनाउँदै नागरिकलाई सास्तीमुक्त यात्राको प्रत्याभूति गराउनु उनका लागि अर्को परीक्षाको विषय हुनेछ । सीमित बजेटबिच प्राथमिकताका आयोजना छनोट गर्ने र निर्माण क्षेत्रमा हुने नीतिगत भ्रष्टाचार रोक्ने चुनौती अर्कोतिर छँदैछ । 

यी क्षेत्रमा विज्ञका रूपमा सुझाव दिँदै आएका लम्साल अब आफैँ निर्णय गर्ने र कार्यान्वयन गर्ने कार्यकारी ठाउँमा छन् । आफ्नै प्राविधिक पृष्ठभूमि र चुनावी प्रतिबद्धता अनुसार उनले नेपालको पूर्वाधार क्षेत्रमा कस्तो ‘ब्रेक थ्रु’ गर्छन्, त्यसैले बालेन सरकारको कार्यक्षमताको परीक्षण गर्नेछ ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस