तातोपानीले आईतबार बिदा नगर्ने, शिक्षा शाखा प्रमुख र प्रधानाध्यापक बीच कार्यसम्पादन सम्झौता 

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पनि आईतबार विदा नगर्ने भएको छ । तातोपानीका २९ वटै सामुदायिक विधालयमा आईतबार बिदा नदिने निर्णय भएको हो ।

वैशाख ६ गते बसेको शिक्षा समिति तथा प्रधानाध्यापकहरुको बैठकबाट हिउँदे बिदाका कारण पढाई धेरै प्रभावित भएको र आईतबार बिदा नदिएर तातोपानीका २९ वटै विधालय संचालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले बताए । 

आईतबार विदा दिने संघिय सरकारको निर्णय उल्ट्याएको तातोपानीले वैशाख १४ गतेम्म निरन्तर भर्ना अभियान संचालन गर्ने र वैशाख १५ गतेदेखी नियमित पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । 

यदपी संघीय सरकारले वैशाख १५ गतेपछि मात्रै भर्ना अभियान संचालन गर्न परिपत्र गरेको छ । उक्त परिपत्रले पठनपाठन प्रभावित हुने ठहर गर्दै तातोपानीले शिक्षा क्षेत्र सुधारका लागि कार्यसम्पादन सम्झौता, आईबार विदा नगर्ने लगायतका निर्णय भएका छन् ।  । 

शिक्षा शाखा प्रमुख र प्रअबीच कार्यसम्पादन सम्झौता

वैशाख-६ गते बसेको बैठकले शैक्षिक क्षेत्र सुधारका लागि तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकबीच करार कार्यसम्पादन सम्झौता गरेका छन्। 

शैक्षिक सुधारका विभिन्न सर्तमा शिक्षा शाखा प्रमुख सुरत बहादुर शाही र पालिकाका २९ वटै विधालयका प्रधानाध्यापक बीच करार कार्यसम्पादन सम्झौता भएको हो  । 

विधालयको शैक्षिक गुणस्तर कायम राख्ने, पठन पाठनलाई प्रभावकारी बनाउने, सरसफाईको अबस्था सुधार गर्ने,विधालयका कामहरुको अभिलेख राख्ने, तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने, विधालय सुधार योजना निर्माण तथा कार्यान्वयन गर्ने,विधालयमा हरियाली प्रर्बद्वन गर्ने,सिकाई उपलब्धीलाई हरेक वर्ष ५ प्रतिशतले बृद्वि गर्ने लगायतका ३६ बुदे कार्यसम्पादन सम्झौता गरिएको शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीले बताए ।

उनले भने,´कार्यसम्पादन सम्झौताले शैक्षिक क्षेत्रको बहुआयामिक क्षेत्र सकरात्मक प्रभाव देखिने अपेक्षा छ ।शिक्षामा सुधार गर्न सम्झौता कार्यान्वयनमा निकै जोड दिन जरुरी छ `

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले शैक्षिक सुधारको अभियानै चलाएका कारण शिक्षा शाखा र प्रअ बीचको सम्झौता थप कोसे ढुंगा सावित हुने बताए । पालिकाको एकल प्रयासले शिक्षा क्षेत्र सुधार सम्भव नभएकाले पालिका, प्रअ र अभिभावको जोडबल जरुरी रहेको उल्लेख गरे । 

आईतबार बिदा गर्ने तथा कार्यसम्पादन सम्झौता पूर्ण पालना गर्ने तातोपानीका २९ वटै विधालयका प्रधानाध्यापकहरुले साझा प्रतिबद्वता व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस