नगर प्रमुख भामले मलामी जाँदा दमाह भिरेर बजाएपछि…

मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४का ६५ वर्षीय साङ्या रोकाया को आफ्नै कालगतिले निधन भएपछि गरिएको अन्त्येष्टि कार्यक्रममा एक फरक र अर्थपूर्ण दृश्य देखिएको छ। मलामीमा सहभागी भएका मुगु छायाँनाथ राराका नगरपालिकाका प्रमुख विष्णु कुमार भाम स्वयं आफै बाजा बजाउँदै अघि बढेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामान्यतया दलित समुदायसँग मात्र जोडिने र विशेषगरी उनीहरूले पुर्खेउली पेशाका रुपमा अंगाल्दै आएको बाजा बजाउने यो परम्परामा एक जनप्रतिनिधि स्वयं सहभागी हुनु धेरैका लागि नौलो र सन्देशमूलक बन्यो । स्थानीय परम्परा अनुसार अन्त्येष्टिमा बाजा बजाउने जिम्मेवारी प्रायः दलित समुदायले वहन गर्दै आएका छन् । तर, यो जिम्मेवारी केवल एक समुदायको मात्र नभएर हामी सबैको साझा हो भन्ने सन्देश दिन नगर प्रमुख विष्णु कुमार भाम आफैँले बाजा बजाएको स्थानीयहरूले बताएका छन् ।

यस समावेशीता, सामाजिक एकता तथा भद्भावको सन्देश पनि प्रवाह गरेको छ । नगर प्रमुखको यस कदमले विभिन्न जातजाति र समुदायबीच भावनात्मक एकता झल्काएको छ । शोकको वातावरणमा सबैले मिलेर दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दा सामाजिक सद्भावको बलियो उदाहरण समेत प्रस्तुत भएको थियो ।

त्यस अवसरमा नगर प्रमुख भामले दुःखद घडीमा सहकार्य, सहानुभूति र एकता आवश्यक हुने बताउँदै विभेदरहित समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो, यस्तो समयमा हामी सबै एक भएर उभिनुपर्छ र विभेदका पर्खालहरू भत्काउनुपर्छ ।’ नगर प्रमुख भामकै नेतृत्वमा छायाँनाथ रारा नगरपालिकाले जातिय विभेद न्युनिकरणका विभिन्न प्रयास समेत गर्दै आएको छ । अन्तरजातीय विवाह गर्ने जोडीलाई पुरस्कृत गर्ने नीति समेत नगर प्रमुख भामले कार्यान्वयन गरेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस