जुम्ला । सार्वजनिक बिदाको दिन जुम्लामा सरकारी सवारी साधन निजी प्रयोजनमा प्रयोग भएको भेटिएपछि पाँच वटा सरकारी मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाले सरकारी निकायभित्रको लापरबाही र सार्वजनिक सम्पत्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले शनिबार जुम्ला बजार क्षेत्रमा गरेको सवारी चेकिङका क्रममा सरकारी नम्बर प्लेट भएका मोटरसाइकल निजी काममा प्रयोग भइरहेको अवस्थामा फेला पारेको थियो ।
नियन्त्रणमा परेका सवारीमा चन्दननाथ नगरपालिकाका दुई, शहरी तथा भवन डिभिजन कार्यालयको एक, हिमा गाउँपालिकाको एक र पातारासी गाउँपालिकाको एक मोटरसाइकल रहेका छन् ।
ट्राफिक प्रहरीका अनुसार चन्दननाथ नगरपालिकाको क.१ ब १४५ नम्बरको मोटरसाइकल कर्मचारी क्षेत्रबहादुर बुढाथापाले चलाइरहेका थिए भने हिमा गाउँपालिकाको क.प्र.०-१००१ ब ४१० नम्बरको मोटरसाइकल कार्यपालिका सदस्य वीर तिरुवाले प्रयोग गरिरहेका थिए ।
पातारासी गाउँपालिकाको मोटरसाइकल चलाउने व्यक्तिले आफू प्राविधिक भएको बताए पनि परिचय खुलाउन मानेनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रकाश शाहीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनको दुरुपयोग बढ्दो अवस्थामा रहेको बताए ।
उनका अनुसार शहरी तथा भवन डिभिजन कार्यालयको मोटरसाइकल आवश्यक पास प्रस्तुत गरेपछि फिर्ता गरिएको छ भने अन्य सवारी अझै ट्राफिक प्रहरीकै नियन्त्रणमा छन् ।

सरकारी इन्धन, साधन र जनताको करबाट सञ्चालन हुने सवारी निजी प्रयोजनमा प्रयोग हुनु सुशासन र जवाफदेहितामाथिको चुनौती भएको स्थानीयले बताएका छन् । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि दुई दिन सार्वजनिक बिदा लागू गरेको अवस्थामा यस्ता गतिविधि झन् विवादित बनेका छन् ।

l



