जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ५ बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ । तातोपानीका ८ वटा वडा मध्य पहिलो वडाका रुपमा आईतबार एक समारोहका बीच बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको हो ।
तातोपानीका स्थानीयको उल्लेखीय सहभागिता तथा निर्वतमान भौतिक पूर्वाधार, वन तथा वाताबरण मन्त्री माधव प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा तातोपानी–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ ।
सामाजिक कुरितीका रुपमा रहेको बालविवाह तथा महिनावारी विभेद न्युनिकरण गर्दै तातोपानी समृद्ध समाज निर्माण गर्ने अभियानमा जुटेको छ । आर्थिक अभाव, गरिबी, चेतनाको कमी, अशिक्षा, देखासिकी र पछिल्लो प्रविधिको चरम दुरुपयोगका कारण गाउँमा बढ्दै गएको बालविवाहलाई रोक्दै आत्मनिर्भर समाज बनाउन पहिलो वडाका रुपमा तातोपानी–५ लाई बालविवाहमुक्त घोषणा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
‘हाम्रो सामाजिक विकास र रुपान्तरणका मुख्य बाधक भनेकै बालविवाह र महिनावारी विभेद हुन्’, उनले भने,‘बालविवाहकै कारण सयौ बालबालिका शिक्षा,रोजगार लगायतका अबसरबाट बन्चित छन् । महिनाविभेदले महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिरहेको वर्तमान परिस्थितीमा तातोपानीले समग्र पालिकालाईनै बालविवाह र महिनावारी विभेदमुक्त बनाउने अभियान चलाएको छ । यसमा सबैको सहयोगको अपेक्षा राखेका छौ ।’
आर्थिक अबस्था कमजोर भएका कारण बालविवाह गर्नु पर्ने बाध्यता झेलिरहेका बालबालिकाको पहिचान गरी उनीहरुका परिवारलाई आत्मनिर्मभर बनाउन पालिकाले सहयोग गर्ने समेत अध्यक्ष चौलागाईले उल्लेख गरे ।
पूर्वाधार विकास, सेवा प्रवाह, सुशासनका क्षेत्रमा फड्को मारेको तातोपानीले सामाजिक विकासलाई पनि प्रथामिकता दिएर काम गरिरहेको निर्वतमान मन्त्री माधव प्रसाद चौलागाँईले बताए । ‘विशेषगरी असारे विकास रोक्न तातोपानीले गरेका कामहरु अनुसरण योग्य छन्,’ उनले भने,‘भौतिक विकासले मात्रै समाज रुपान्तरण नहुने भएकाले वर्षौदेखी जरा गाडेर बसेको बालविवाह तथा महिनावारी विभेद न्युनिकरणको अभ्यास सुरु भएको छ । पहिलो वडा पनि घोषणा भएको छ । यसको कार्यान्वयनमा सबैले ध्यान दिन जरुरी छ ।’
अब सबै पालिकाहरुले भौतिक विकासले मात्र नागरिकको जीवनस्तर नउठ्ने भएकाले राष्ट्यि लक्ष्य तथा रणनीति अनुसार सामाजिक विकासका मुद्धामा केन्द्रित हुन समेत अनुरोध गरे । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाई, वल्र्डभिजनका प्रतिनिधि भेष बहादुर रावल लगायतले समयको विकाससंगै समाजलाई पनि रुपान्तरण गर्न बालविवाह, महिनावारी विभेद जस्ता कुरिती न्युनिकरण गर्न तातोपानीले गरेको अभ्यास प्रसंशायोग्य रहेको बताएका छन् । सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्यि आकांक्षा पूरा गर्न वडा हुदैँ पालिका घोषणाले टेवा पुराउने जिसस प्रमुख आर्चायको भनाई छ ।
तातोपानी गाउँपालिका वडा नं. ५ का अध्यक्ष छिरिङ महतलले घोषणा गरेर मात्र बालविवाह अन्त्य हुने, महिनावारी विभेद कम नहुने भन्दै घोषणाको कार्यान्वयनमा सबै सरोकारवाला जवाफदेही हुनु पर्ने बताए । १५ वटा सूचक पूरा गर्दै वडालाई पालिकाकै पहिलो वडाका रुपमा बालविवाह र महिनावारी भिवेदमुक्त वडा घोषणा गर्न सफल भएको उनको भनाई छ ।
तातोपानी–५ लाई बालविवाह र महिनावारी विभेद मुक्त वडा घोषणा गर्नका लागि पालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित सहयात्रा तेस्रो परियोजना, वल्र्डभिजन लगायतका दातृ निकायले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
कार्यक्रमलाई आर्थिक एंव प्राविधिक तवरले सफल तुल्याउन अहम भुमिका खेल्ने तथा कार्यक्रमको साझेदारीको रुपमा सहयोग गर्ने सेभ द चिल्ड्रेन र किर्डाक नेपाललाईगाउँपालिकाले धन्यबाद व्यक्त गरेको छ ।



