मुगुकी रिउसराले पाईन ७८ वर्षमा नागरिकता

मुगु ।  जीवनको उत्तरार्धमा आएर मुगुकी एक असहाय महिलाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। छायांनाथ रारा नगरपालिका वडा नं. १२, लुम्स (साविकको रोवा गा.वि.स. वडा नं. ८) निवासी ७८ वर्षीया रिउसरा ऐडी मुडुल्या लाटीले बल्ल आफ्नो देशको पहिचान पाएकी हुन्।

विक्रम संवत २००५ साल वैशाख १० गते जन्मनुभएकी रिउसराको बाल्यकाल निकै कष्टकर रह्यो। उहाँ सानै छँदा २०११ सालमा बुवा धन ऐडी र २०१२ सालमा आमा रत्नमती ऐडीको निधन भयो। साहारा दिने एकमात्र दिदी खुम्बेनी ऐडीको पनि २०३०/३१ सालतिर मृत्यु भएपछि उहाँ सानै उमेरमा पूर्ण रूपमा अनाथ भईन्।

आमाबुवा र दिदीको मृत्युपछि चरम गरिबीका कारण उहाँ मुगुम कार्मारोङका एक स्थानीय व्यक्तिसँग गईन्। त्यसपछि विभिन्न गाउँमा गोरु गोठालो गर्ने र घरायसी काममै उहाँले आफ्नो सम्पूर्ण जवानी, जीवन र जिन्दगी बताईन्। अभिभावक कोही नभएकाले समयमा उहाँको नागरिकता बन्न सकेको थिएन।

स्थानीय सरकार र प्रशासनको विशेष पहल लामो समयसम्म पहिचानविहीन रहनुभएकी रिउसराको नागरिकता बनाउन लुम्स गाउँका नजिकका आफन्त (साँग), छायांनाथ रारा नगरपालिका वडा नं. १२ को वडा कार्यालय, अस्थायी प्रहरी चौकी रोवा, जिल्ला प्रहरी कार्यालय मुगु र जिल्ला प्रशासन कार्यालय मुगुले विशेष पहल गरेका थिए।

वडा कार्यालयको विशेष सक्रियतामा निःशुल्क रूपमा वडा सिफारिस, स्थलगत सर्जमिन मुचुल्का, जन्ममिति प्रमाणित, नाता प्रमाणित, आमाबुवाको मृत्यु प्रमाणित र अविवाहित प्रमाणित सम्बन्धी कागजात तयार पारिएको थियो। साथै अस्थायी प्रहरी पोष्ट रोवाबाट प्रहरी प्रतिवेदन समेत उपलब्ध गराइएपछि उहाँले नागरिकता प्राप्त गरिन्।

नागरिकता पाएपछि खुसी, तर भविष्य अन्योलमा नागरिकताको प्रमाणपत्र हात परेपछि रिउसराले असाध्यै खुसी महसुस गर्नुभएको छ। नागरिकता पाए लगतै उहाँको राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गरिएको छ भने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) का लागि बैंक खाता समेत खोलिएको छ।

नागरिकता पाएर कानुनी रूपमा नेपाली नागरिक बने पनि उहाँको आगामी जीवन भने अझै चुनौतीपूर्ण छ। निजको नाममा घर, जग्गा, जमिन वा कुनै सम्पत्ति केही पनि छैन। उमेर ढल्किसकेकाले अब श्रम गरेर खान सक्ने अवस्था पनि छैन।

गाउँमा हेरचाह गर्ने नजिकका आफन्त कोही नभएका कारण उनलाई अब सुरक्षित जीवनयापनका लागि कुनै वृद्धाश्रममा बस्ने व्यवस्था मिलाउनुपर्ने देखिएको छ। स्थानीय सरोकारवालाहरूले उहाँको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया दिनुहोस