जुम्ला ।जुम्ला लगाएत कर्णालीका विद्यार्थीले पत्रकारिता अध्ययनका लागि जिल्ला बाहिर धाउनुपर्ने अवस्था अब अन्त्य हुने संकेत देखिएको छ। जुम्ला बहुमुखी क्याम्पसमा चारवर्षे स्नातक तहको आमसञ्चार तथा पत्रकारिता विषय सञ्चालनको तयारी तीव्र बनाइएको छ।
मानविकी तथा सामाजिकशास्त्र संकाय विस्तारसम्बन्धी जुम्लामा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले पत्रकारिता विषय सञ्चालनका लागि आवश्यक पूर्वाधार, शैक्षिक अवस्था र स्रोत–साधनको मूल्याङ्कन गर्न त्रिभुवन विश्वविद्यालयको टोली जुम्ला पुगेको थियो ।
लामो समयदेखि भइरहेको प्रयास, स्थानीय तह, शैक्षिक क्षेत्र र सरोकारवालाहरूको सहकार्यपछि जुम्लामा पत्रकारिता अध्ययनको वातावरण बनेको छ । पत्रकारिता अध्ययनप्रति युवाहरूको आकर्षण बढिरहेका बेला कर्णालीका विद्यार्थीलाई आफ्नै ठाउँमा अवसर उपलब्ध गराउनु आवश्यक बनेको हो।
स्थलगत अध्ययनका लागि पुगेको टोलीमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रतिनिधि र विषय विशेषज्ञहरूको सहभागिता रहेको थियो। टोलीले क्याम्पसको भौतिक अवस्था, प्रयोगात्मक अभ्यासका लागि आवश्यक पूर्वाधार र शैक्षिक तयारीबारे अध्ययन गरेको छ।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले जुम्लामा पत्रकारिता विषय सुरु हुनु केवल नयाँ शैक्षिक कार्यक्रम नभई सञ्चार क्षेत्रको भविष्यसँग जोडिएको कदम भएको बताए। उनले पत्रकारितामा रुचि भएका विद्यार्थी र पेशागत पत्रकार दुवैका लागि यसले नयाँ अवसर सिर्जना गर्ने धारणा राखे।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले पत्रकारिताले समाजलाई जिम्मेवार, सचेत र सूचनामैत्री बनाउन भूमिका खेल्ने उल्लेख गरे। उनले पत्रकारिता विषय व्यवहारिक अभ्यास, ज्ञान र सामाजिक जिम्मेवारीसँग जोडिने भएकाले यसको महत्व झन् बढेको बताए।
डा. वामदेव अधिकारीले शिक्षालाई केवल डिग्री प्राप्तिको माध्यमका रूपमा मात्र हेर्न नहुने बताए। उनले मानविकी तथा सामाजिकशास्त्रले समाजको सोच, चेतना र परिवर्तनसँग गहिरो सम्बन्ध राख्ने उल्लेख गर्दै जुम्लाजस्ता क्षेत्रका स्थानीय संस्कृति, सामाजिक अवस्था र मौलिक ज्ञानको अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवालीले अहिलेको आवश्यकता अनुसार दक्ष र व्यवसायिक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले ध्यान दिइरहेको बताए। अध्ययनको निष्कर्ष र आवश्यक प्रक्रिया पूरा भएपछि जुम्ला बहुमुखी क्याम्पसलाई पत्रकारिता विषय सञ्चालनको औपचारिक मान्यता दिने प्रक्रिया अगाडि बढाइने उनले बताए ।



